काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको आक्रमण हालका लागि रोकिएको घोषणा गरेका छन्।
ट्रम्पले इरानसँग सम्झौताको प्रारम्भिक रूपरेखा तयार भइसकेको दाबी गर्दै अमेरिका आक्रमण नगर्ने निर्णयमा पुगेको बताएका हुन्।
ट्रम्पले आइतबार सामाजिक सञ्जाल ट्रुथ सोसलमा भनेका छन्, ‘दोस्रो विश्वयुद्धपछि अमेरिकासँग अहिलेसम्मकै सबैभन्दा शक्तिशाली सैन्य क्षमता छ र आवश्यक परे इरानविरुद्ध कारबाही गर्न पूर्ण रूपमा तयार छ। तर इरान र मध्यपूर्वका केही अन्य देशहरूले आक्रमण रोक्न अनुरोध गरेका छन्, किनभने सम्झौताको रूपरेखा तय भइसकेको छ।’
उनका अनुसार प्रस्तावित सम्झौतामा होर्मुज जलमार्ग तत्काल, पूर्ण रूपमा र कुनै अवरोधबिना सञ्चालनमा ल्याउने तथा इरानको आणविक खतरालाई अन्त्य गर्ने विषय समावेश गरिएको छ।
ट्रम्पले विश्वको भविष्य तथा इरानको स्थिरता र समृद्धिलाई ध्यानमा राख्दै आक्रमण रद्द गर्ने निर्णय गरिएको बताएका छन्।
उनले यस निर्णयमा इजरायल पनि आफ्नो पक्षमा रहेको दाबी गर्दै सबै पक्षलाई सम्झौतामा छिट्टै अन्तिम सहमति जुटाउन आग्रह गरेका छन्।





