गाजापट्टी । युद्धविरामको नयाँ पहल सार्वजनिक भएको केही समयमै इजरायलले गाजामा आक्रमण तीव्र बनाएको छ । आइतबार भएका विभिन्न हवाई तथा ड्रोन आक्रमणमा कम्तीमा १९ जना प्यालेस्टिनीको मृत्यु भएको छ भने धेरै अन्य घाइते भएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा शान्ति र सुरक्षातर्फ महत्वपूर्ण कदम भन्दै नयाँ योजना घोषणा गरेका थिए । तर त्यसको केही समयमै इजरायली सेनाले गाजाका विभिन्न स्थानमा हवाई आक्रमण जारी राख्यो ।
गाजा सहरको पश्चिमस्थित अल–सौसी टावरमा भएको हवाई आक्रमणमा अब्दुल्लाह अबु ताइफ, उनकी गर्भवती पत्नी अबिर अनान र उनीहरूका पाँच वर्षीय छोरा अज्जामको मृत्यु भएको अल–शिफा अस्पतालका चिकित्सकीय स्रोतले जनाएको छ । खान युनिस नजिकको अल–करारामा भएको अर्को आक्रमणमा महमुद अल–हाम्स, उनकी पत्नी फातिमा र उनकी सानी छोरीको ज्यान गएको छ । यस घटनामा अन्य तीन जना घाइते भएका छन् ।
मध्य गाजाको देइर अल–बलाहमा कामु अबु मुआइलिक र उनकी पत्नी हुदा अबु मुआइलिक आफ्नै घरमा भएको आक्रमणमा मारिएका छन् । सोही क्षेत्रमा मोटरसाइकलमा यात्रा गरिरहेका दुई दाजुभाइको पनि मृत्यु भएको छ । उत्तरी गाजाको जबालिया शरणार्थी शिविरमा एक जना प्यालेस्टिनीको प्रत्यक्ष आक्रमणमा मृत्यु भएको छ । खान युनिसको अल–मवासी क्षेत्रमा विस्थापितहरूको पालमा गरिएको आक्रमणमा एक जनाको मृत्यु तथा पाँच जना घाइते भएका छन् ।
गाजा सहरको रेमाल क्षेत्रमा विस्थापितहरू बसिरहेको पालमा भएको इजरायली ड्रोन आक्रमणमा दुई जनाको मृत्यु भएको छ भने अर्को सवारीसाधनलाई लक्षित आक्रमणमा चार जनाले ज्यान गुमाएका छन् । प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूका अनुसार आइतबार बिहानदेखि भएका यी आक्रमणहरूले पछिल्ला केही सातामै सबैभन्दा धेरै दैनिक मानवीय क्षति पुर्याएका छन् । यसअघि शनिबार पनि इजरायली आक्रमणमा देइर अल–बलाहस्थित अल–अक्सा शहीद अस्पतालसँग सम्बन्धित औषधि गोदाममा क्षति पुगेको थियो ।





