बञ्चरेडाँडामा फोहोर बोकेको गाडी एक घण्टा रोकियो, १५ दिनभित्र माग पूरा नभए विसर्जन रोक्ने चेतावनी

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । बञ्चरेडाँडाका स्थानीयले काठमाडौं उपत्यकाबाट फोहोर बोकेर गएको गाडीलाई आज बिहान एक घण्टा रोकेका छन्। वैज्ञानिक प्रविधिबाट फोहोर व्यवस्थापन नभएको र गाउँभर दुर्गन्ध फैलिएको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका हुन्।

विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै आफूहरू आन्दोलनमा उत्रन बाध्य भएको सिसडोल–बञ्चरेडाँडा फोहोर व्यवस्थापन सरोकार केन्द्रका अध्यक्ष निरञ्जन सञ्जेलले बताए।

‘आज बिहान एक घण्टाका लागि बञ्चरेडाँडामा फोहोर बोकेका गाडी रोकेका हौं। १५ दिनभित्र माग सम्बोधन नभए फोहोर खन्याउन रोक लगाउँछौं,’ उनले भने, ‘फोहोर र मान्छे सँगै बस्ने अवस्था छैन।’

स्थानीयका अनुसार बञ्चरेडाँडामा फोहोरबाट निस्कने लिच्चड बगेर खोलामा मिसिएको छ। कुहिने र नकुहिने फोहोर छुट्याएर व्यवस्थापन नगर्दा २० वर्षका लागि निर्माण गरिएको ल्यान्डफिल साइटको लिच्चड व्यवस्थापन गर्ने ड्यामसमेत भरिएको उनीहरूको भनाइ छ।

स्थानीयले प्रभावित क्षेत्रको जग्गा अन्तर्राष्ट्रिय मापदण्डअनुसार अधिग्रहण गर्नुपर्ने, लिच्चडको उचित व्यवस्थापन गर्नुपर्ने, स्थानीयको स्वास्थ्य तथा शिक्षामा विशेष व्यवस्था गर्नुपर्ने र रोजगारीको प्रबन्ध गर्नुपर्ने माग राखेका छन्।

‘अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रभावित क्षेत्रको जग्गा अधिग्रहण हुनुपर्‍यो। लिच्चडको व्यवस्थापन गर्नुपर्‍यो,’ सञ्जेलले भने, ‘यहाँका स्थानीयको स्वास्थ्य र शिक्षाको विशेष व्यवस्था राज्यले गर्नुपर्‍यो। रोजगारको प्रबन्ध हुनुपर्‍यो।’

स्थानीयले आफ्ना माग १५ दिनभित्र पूरा नभए बञ्चरेडाँडामा फोहोर विसर्जन गर्न नदिने चेतावनी दिएका छन्।

काठमाडौं उपत्यकासहित २१ वटा पालिकाको फोहोर सिसडोल–बञ्चरेडाँडा क्षेत्रमा विसर्जन हुँदै आएको छ। २० वर्षका लागि निर्माण गरिएको भनिएको बञ्चरेडाँडा ल्यान्डफिल साइटमा चार वर्षमै फोहोरको चुली बनेको स्थानीयको गुनासो छ। उनीहरूका अनुसार बञ्चरेडाँडा पनि अहिले सिसडोलकै जस्तो डम्पिङ साइटमा परिणत हुँदै गएको छ।

धादिङको धुनिबेँसी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाको सीमामा रहेको बञ्चरेडाँडामा विगत चार वर्षदेखि फोहोर विसर्जन हुँदै आएको छ। त्यसअघि १७ वर्षसम्म सिसडोलमा फोहोर फालिएको थियो।

फोहोरका कारण गाउँमा क्यान्सर, मुटु तथा मिर्गौलाजस्ता गम्भीर रोगका बिरामी बढेको स्थानीयको दाबी छ। झाडापखाला, टाइफाइड, श्वासप्रश्वास तथा छालासम्बन्धी समस्या पनि घरैपिच्छे देखिने गरेको उनीहरू बताउँछन्।

फोहोर र त्यसबाट निस्कने लिच्चडका कारण कृषि उत्पादनमा कमी आउनुका साथै पशुपक्षी पालनमा समेत असर परेको स्थानीयको गुनासो छ। स्थानीयले दीर्घकालीन रूपमा वैज्ञानिक र व्यवस्थित फोहोर व्यवस्थापनको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्