काठमाडौँ । नेपालको छोछेन खोला (चिनियाँ स्रोतमा कुओजियान नदी) क्षेत्रमा अगस्ट २६ मा गएको विनाशकारी पहिरो तथा बाढीपछि बनेको प्रभाव क्षेत्र वरपरका हिमनदीहरू अझै भत्किन सक्ने जोखिममा रहेको चीनको जलस्रोत मन्त्रालयले जनाएको छ ।
चीनको सरकारी प्रसारक सीसीटीभीलाई उद्धृत गर्दै ग्लोबल टाइम्सले मंगलबार प्रकाशित गरेको रिपोर्टअनुसार, सेप्टेम्बर १ बिहान ८ बजे खिचिएको ड्रोन तस्बिरमा छोछेन खोला क्षेत्रमा पहिरोका कारण बनेको प्रभाव क्षेत्रमा जम्मा भएको पानी अधिकांश बाहिरिइसकेको देखिएको छ । प्रभाव क्षेत्रभन्दा तलको नदीको बहाव पनि अहिले सामान्य अवस्थामा फर्किएको छ । तर, वरपर रहेका हिमनदीहरू भत्किने सम्भावना भने अझै उच्च रहेको मन्त्रालयले जनाएको छ ।
चीनको जलस्रोत मन्त्रालयले नेपालको सीमासँग जोडिएको दक्षिणपश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रअन्तर्गत ग्यिरोङ (केरुङ) काउन्टीमा भएको पहिरो तथा मलबे–बाढीको जोखिमबारे निरन्तर परामर्श, निगरानी र समग्र जोखिम मूल्यांकन गरिरहेको छ । मन्त्रालयले उद्धार तथा राहत कार्यलाई सहयोग पुग्ने गरी जलविज्ञानसम्बन्धी अनुगमनसमेत अघि बढाएको जनाएको छ ।
प्रभाव क्षेत्रमा पानी घट्यो
अगस्ट ३१ मा गरिएको स्याटेलाइट र राडार चित्र विश्लेषणमा छोछेन खोलाको प्रभाव क्षेत्रमा जम्मा भएको पानीको सतह करिब ८३ हजार वर्गमिटर रहेको पाइएको थियो । यो अगस्ट ३० बिहान ११ बजेको तुलनामा २५ हजार वर्गमिटर र सोही दिन साँझ ७ बजेको तुलनामा १४ हजार वर्गमिटर कम थियो । त्यतिबेला उक्त क्षेत्रमा करिब ६ लाख ५० हजार घनमिटर पानी रहेको अनुमान गरिएको थियो । प्रभाव क्षेत्रभन्दा करिब २.५ किलोमिटर तल तीनवटा साना स्थिर पानीका क्षेत्र पहिचान भएका थिए । तीमध्ये केही पानीका क्षेत्र नदीका जलमार्गसँग जोडिएका र पानी बगिरहेको अवस्थामा रहेको चिनियाँ मन्त्रालयले जनाएको थियो ।
तर, पछिल्लो ड्रोन तस्बिरले प्रभाव क्षेत्रमा जम्मा भएको पानी ठूलो मात्रामा निकास भइसकेको र तलतर्फको नदी सामान्य रूपमा बगिरहेको देखाएको छ ।
नयाँ हिमपहिरो र अवरोध बन्न सक्ने चेतावनी
चिनियाँ पक्षले पानीको बहाव सामान्य भए पनि जोखिम समाप्त नभएको चेतावनी दिएको छ । प्रभाव क्षेत्र वरपरका हिमनदीहरू भत्किएमा पुनः ठूलो मात्रामा मलबे नदीमा पस्न सक्ने र त्यसले नयाँ प्राकृतिक बाँध वा हिमताल निर्माण गर्न सक्ने सम्भावना रहेको बताइएको छ । यसअघि गरिएको ड्रोन निरीक्षणमा पूर्व प्यूरेपू छाङ्पो हिमतालबाट करिब तीन किलोमिटर तल नदीका दुवै किनारमा धेरैवटा पहिरोका थुप्रा देखिएका थिए । हाल ती क्षेत्रमा पानी बगिरहेको भए पनि थप पहिरो गएमा नदीको बहाव अवरुद्ध भएर नयाँ ताल बन्न सक्ने जोखिम रहेको चिनियाँ अनुसन्धानकर्ताहरूले औंल्याएका छन् ।
१४ हिमतालको निगरानी
चीनको जलस्रोत मन्त्रालयका अनुसार ग्यिरोङ छाङ्पो नदीको जलाधार क्षेत्रमा पहिचान गरिएका १४ वटा हिमतालको पानीको सतहमा पछिल्लो समय उल्लेखनीय परिवर्तन देखिएको छैन । ती हिमतालहरू समग्रमा स्थिर अवस्थामा रहेको मन्त्रालयले जनाएको छ । अगस्ट ३१ को विश्लेषणअनुसार चीनतर्फ ०.१ वर्गकिलोमिटरभन्दा ठुला १४ वटा मोरेनले बाँधिएका हिमताल पहिचान भएका थिए । तीमध्ये ११ वटा दोङलिन छाङ्पो नदी र यसका सहायक नदीमा तथा तीनवटा ग्यिरोङ छाङ्पो नदी र यसका सहायक नदीमा रहेका छन् ।
नदीको प्राकृतिक अवस्था तथा वहाव क्षेत्रमा रहेका बस्ती र पूर्वाधारलाई आधार बनाएर ती १४ हिमतालमध्ये १० वटालाई उच्च जोखिम र चारवटालाई मध्यमदेखि न्यून जोखिममा वर्गीकरण गरिएको छ । यद्यपि, पछिल्लो एक महिनामा यी सबै हिमतालको पानीको सतहमा ठुलो परिवर्तन नदेखिएको चिनियाँ पक्षले जनाएको छ । नेपालतर्फ भने केरुङ बन्दरगाहभन्दा माथिल्लो क्षेत्रमा ०.१ वर्गकिलोमिटरभन्दा ठूला मोरेनले बाँधिएका हिमताल नभेटिएको स्याटेलाइट विश्लेषणले देखाएको छ ।
जलप्रवाहको निरन्तर निगरानी
चीनको जलस्रोत मन्त्रालयले अगस्ट ३१ मा १४ सदस्यीय प्राविधिक टोली परिचालन गरी प्यूरेपू छाङ्पो, दोङलिन छाङ्पो र ग्रिुङ छाङ्पो नदी क्षेत्रमा जलविज्ञानसम्बन्धी आपत्कालीन अनुगमन गरेको थियो । टोलीले थप निगरानी केन्द्र स्थापना गर्न सकिने स्थानहरूको समेत सर्वेक्षण गरेको थियो ।
केरुङ बन्दरगाहमा अगस्ट ३१ बिहान ९ बजे नदीको बहाव प्रतिसेकेन्ड १२५ घनमिटर मापन गरिएको थियो । उक्त तथ्यांकलाई तलतर्फ उद्धार तथा राहतमा खटिएका टोलीका लागि जोखिम निगरानी र पूर्वसूचना प्रणालीमा प्रयोग गरिएको मन्त्रालयले जनाएको छ ।





