काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। बाढी र पहिरोका कारण केही सडक पूर्ण रूपमा बन्द भएका छन् भने केहीमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार धादिङको गजुरी गाउँपालिका–५ गलौदीस्थित पृथ्वी राजमार्गमा त्रिशूली नदीले सडक कटान गर्दा यातायात अवरुद्ध भएको छ।
त्यस्तै, काभ्रेको रोशीमा आएको बाढीले बीपी राजमार्ग पनि पूर्ण रूपमा बन्द भएको छ। ललितपुरको बागमती गाउँपालिका–३ टाकुर्चेस्थित कान्तिलोकपथ पहिरोका कारण अवरुद्ध भएको छ।
गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्सेस्थित कालीगण्डकी करिडोरमा पहिरो खसेपछि यातायात पूर्ण रूपमा बन्द भएको छ। सल्यानको बनगाड कुपिण्डे नगरपालिका–११ मा पहिरो जाँदा बालुवासंग्रही सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।
यसैगरी, धादिङको धुनिवेशी नगरपालिका–९ मा पहिरो जाँदा त्रिभुवन राजपथ एकतर्फी सञ्चालनमा आएको छ।
नवलपरासीमा कालीगण्डकी करिडोर, म्याग्दीमा बेनी–जोमसोम सडक र मनाङमा बेंसीसहर हुँदै खाङसारसम्म जाने सडक पनि एकतर्फी सञ्चालनमा रहेका छन्।
उता, कर्णाली प्रदेशको डोल्पास्थित त्रिपुरासुन्दरी नगरपालिका–९ मा पहिरो खसेपछि भेरी करिडोर पनि एकतर्फी भएको छ।
यसैबीच, सुरुवामा गत भदौ १० गते गएको बाढीले बगाएको राजमार्गसमेत अझै सञ्चालनमा आउन सकेको छैन।






