पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्युरोमा बोलाइयो, नियन्त्रणमा नलिइएको प्रहरीको भनाइ

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले साइबर ब्युरो, भोटाहिटीमा बोलाएको छ। ब्युरोको टोलीले ललितपुरस्थित निवासबाट उनलाई कार्यालयमा ल्याएको हो।

श्रेष्ठविरुद्ध सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता हिमेश पन्तले उजुरी दिएका थिए। श्रेष्ठ प्रधान सम्पादक रहेको जनआस्था साप्ताहिकले पन्तको परिवारमाथि धादिङको थाक्रे गाउँपालिका–१० का तिलकप्रसाद बिडारीको साढे चार रोपनी जग्गा हडपेको आरोप लागेको समाचार प्रकाशित गरेको थियो। उक्त समाचारविरुद्ध पन्तले ब्युरोमा उजुरी दिएका थिए।

पन्तले जाहेरी दिएपछि सामाजिक सञ्जालमा आफूविरुद्ध गरिएको टिप्पणीलाई लिएर श्रेष्ठले पनि जाहेरी दिएका थिए।

ब्युरोका एसपी दीपकराज अवस्थीले जाहेरीसम्बन्धी विषयमा छलफल गर्न दुवै पक्षलाई बोलाइएको बताएका छन्। उनका अनुसार दुवै पक्षलाई छलफलका लागि बोलाइएको हो, नियन्त्रणमा लिइएको होइन।

यसअघि गत साउन २७ गते समाचारकै विषयलाई लिएर प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको थियो। त्यसक्रममा उनको घर र कार्यालयमा समेत खानतलासी गरिएको थियो। पछि सर्वोच्च अदालतको आदेशमा उनी हिरासतमुक्त भएका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्