राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो तीनदिने भारत भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् ।
पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान काठमाडौंबाट हवाईमार्ग हुँदै धनगढी पुगेका थिए । धनगढी विमानस्थलबाट कञ्चनपुर हुँदै सडकमार्गबाट गड्डाचौकी नाका पुगेका उनी त्यहाँबाट भारततर्फ लागेका हुन् ।
भ्रमणका क्रममा लामिछानेले यसलाई राजनीतिक विषयसँग जोडेर व्याख्या नगर्न आग्रह गरेका छन् । उनले आफ्नो व्यक्तिगत भ्रमणलाई अनावश्यक राजनीतिक बहसको विषय नबनाउनसमेत अनुरोध गरेका छन् ।
‘कुनै राजनीतिक भेटघाट छैन । कसैलाई खिचडी नपकाउन पनि अनुरोध गर्न चाहन्छु । यो मेरो असाध्यै व्यक्तिगत भ्रमण भएको हुनाले कहिलेकाहीँ व्यक्तिगत कुरा र राजनीतिक कुरालाई अलग्याउन सक्नुपर्छ । त्यसलाई अलग्याउन सहयोग गर्न आग्रह गर्न चाहन्छु,’ लामिछानेले भने ।
उनले आफू कारागारमा रहँदा उत्तराखण्डको नैनीतालस्थित कैँची धाम जाने भाकल गरेको उल्लेख गर्दै सोही भाकल पूरा गर्न भारत जान लागेको बताएका छन् ।
भ्रमणका क्रममा लामिछाने परिवारसहित भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिर पुगेर पूजाआजा गर्ने कार्यक्रम रहेको छ ।
‘पहिलादेखि नै जाने एउटा भाकल पनि थियो । धार्मिक आस्था, विश्वास र पारिवारिक संस्कार पनि हो । मेरो परिवार पनि आध्यात्मिक भएकाले पहिलादेखि नै जाऔँला भन्ने थियो । म कारागारमा हुँदा एउटा परम्पराअनुसार भाकल गरेको थिएँ । त्यसलाई पूरा गरौँ भनेर जान लागेको हुँ,’ उनले भनेका छन् ।




