काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भई हालसम्म सम्पर्कमा नआएका फरार व्यक्तिहरूलाई ३५ दिनभित्र सम्पर्कमा आउन अल्टिमेटम जारी गरेको छ।
वैदेशिक रोजगार न्यायाधिकरणबाट अनुमति लिई विभागले असोज ९ गते एक सूचना जारी गर्दै तोकिएको मितिभित्र विभाग वा नेपाल प्रहरीको सम्पर्कमा आउनुपर्ने जनाएको छ।
प्रकाशित सूचनामा भनिएको छ, ‘पक्राउ पुर्जी जारी भई फरार रहेका व्यक्तिहरू तोकिएको मितिभित्र उपस्थित नभए वैदेशिक रोजगार ऐन, २०६४ लगायतका प्रचलित कानुनबमोजिम निजहरूको बैंकिङ कारोबार रहेको खाता तथा यात्रा अनुमति रोक्का राख्नेलगायतका आवश्यक अन्य कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने व्यहोरा समेत यसै सूचनामार्फत सम्बन्धित सबैलाई सूचित गरिन्छ।’




