धनगढीमा मोटरसाइकल र स्कुटी ठोक्किंदा एकजनाको मृ*त्यु, ५ जना घाइते

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

२७ कात्तिक, धनगढी । धनगढीमा मोटरसाइकल र स्कुटी एकआपसमा ठोक्किंदा एक महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

धनगढी उपमहानगरपालिका–१५ ज्योति आयल स्टोर नजिकै बिहीबार साँझ करिब ७ बजेतिर फूलबारीतर्फ जाँदै गरेको से४प ४५८५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको सुपप्र ०२००३प ८१५५ नम्बरको स्कुटी एकआपसमा ठोक्किएका थिए।

दुर्घटनामा गम्भीर घाइते भएकी स्कुटी चालक धनगढी-५ तारानगर बस्ने ३५ वर्षीया सुशीला बमको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश बिष्टले बमको उपचारका क्रममा शुक्रबार बिहान माया मेट्रो अस्पतालमा मृत्यु भएको जानकारी दिए।

उनकाअनुसार दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक धनगढी–१४ का २६ वर्षीय प्रवीण चौधरी, उनकी २२ वर्षीया श्रीमती अञ्जली चौधरी र ७ वर्षीया छोरी ममता चौधरी रहेका छन् ।

यस्तै, स्कुटीमा सवार २४ वर्षीय सरोज मल्ल र २२ वर्षीया बबिता मल्ल पनि घाइते भएका छन् । उनीहरुको अवस्था सामान्यदेखि मध्यम रहेको छ। दुवै सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्