अबुधाबी । संयुक्त अरब इमिरेट्स (यूएई) को औपचारिक भ्रमणमा रहेका नेपालका गृहमन्त्री सुदन गुरुङले दुबईका युवराज तथा यूएईका उपप्रधानमन्त्री एवं रक्षामन्त्री महामहिम शेख हमदान बिन मोहम्मद बिन राशिद अल मक्तुमसँग भेट गरेका छन्।
सोमबार दुबईमा आयोजित पाँचौँ विश्व प्रहरी सम्मेलन (वर्ल्ड पुलिस समिट–२०२६) को उद्घाटन समारोहमा सहभागी हुनुअघि गृहमन्त्री गुरुङसहित सम्मेलनमा सहभागी अन्य देशका मन्त्रीहरूलाई युवराज शेख हमदानले स्वागत गरेका थिए।
त्यसैगरी, सम्मेलनकै अवसरमा गृहमन्त्री गुरुङले यूएईका उपप्रधानमन्त्री तथा गृहमन्त्री लेफ्टिनेन्ट जनरल महामहिम शेख सैफ बिन जायेद अल नाह्यानसँग पनि भेटवार्ता गरेका छन्। भेटमा अन्य सहभागी देशका मन्त्रीहरू पनि उपस्थित थिए।
सम्मेलनको उद्घाटन समारोहमा सहभागी भएपछि गृहमन्त्री गुरुङले प्रहरी तथा कानुन कार्यान्वयनका क्षेत्रमा विकसित नवीनतम प्रविधि, आविष्कार र उपलब्धिहरू प्रदर्शन गरिएको प्रदर्शनीको अवलोकन गरेका थिए। उनले विभिन्न प्रदर्शकका प्रतिनिधिहरूसँग समेत अन्तरक्रिया गरेका थिए।
दुबई प्रहरीद्वारा आयोजना गरिएको पाँचौँ विश्व प्रहरी सम्मेलन नोभेम्बर १६ देखि १८ तारिखसम्म दुबई वर्ल्ड ट्रेड सेन्टरमा सञ्चालन भइरहेको छ। यूएईका राष्ट्रपति तथा दुबईका शासक महामहिम शेख मोहम्मद बिन राशिद अल मक्तुमको संरक्षणमा आयोजित सम्मेलनको यस वर्षको नारा ‘कनेक्टेड फर इम्प्याक्ट स् युनाइटिङ ग्लोबल पुलिसिङ टु सेफगार्ड फ्युचर जेनेरेसन्स’ रहेको छ।
सम्मेलनमा ९० देशका २ सय २० जना नेतृत्वकर्ता, विज्ञ तथा सुरक्षा क्षेत्रका विशेषज्ञहरूको सहभागिता छ। अन्तर्राष्ट्रिय सुरक्षा सहकार्य सुदृढ गर्ने, अनुभव तथा विशेषज्ञता आदानप्रदान गर्ने र विकसित हुँदै गएका सुरक्षा चुनौतीको सामूहिक सामना गर्ने उद्देश्य सम्मेलनले राखेको छ।
उद्घाटन समारोहमा गृहमन्त्री गुरुङसँगै यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्री, दुबईस्थित नेपाली महावाणिज्यदूत हरि प्रसाद ओडारी, गृह मन्त्रालयका सहसचिव तथा वरिष्ठ अधिकारीहरू, नेपाल प्रहरीका उच्च अधिकारी र नेपाली दूतावासका प्रतिनिधि सहभागी थिए।
यूएईस्थित नेपाली दूतावासले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत गृहमन्त्री गुरुङको सम्मेलनमा सहभागिता, उच्चस्तरीय भेटघाट तथा प्रदर्शनी अवलोकनबारे जानकारी दिएको हो।
गृहमन्त्री गुरुङ नोभेम्बर १३ तारिख तीनदिने औपचारिक भ्रमणका लागि यूएई आएका हुन्।




