चिनियाँ राष्ट्रपति सी र अमेरिकी समकक्षी जो बाइडेनबीच भेटवार्ता

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौँ, ३० कार्तिक । चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी समकक्षी जो बाइडेनबीच भेटवार्ता भएको छ ।

भेटमा दुई शीर्ष नेता उच्चस्तरीय सैन्य सञ्चार फेरि शुरु गर्न सहमत भएको अन्तराष्ट्रिय सञ्चारमाध्मयले जनाएका छन् । दुई शक्ति राष्ट्रका राष्ट्र प्रमुखहरुको सान फ्रान्सिस्को नजिकै भएको भेटवार्तापछि अमेरिकी राष्ट्रपति जो बाइडेनले रचनात्मक र फलदायी छलफल भएको प्रतिक्रिया दिनुभएको छ ।

भेटमा सीले अमेरिका–चीन सम्बन्धमा ताइवान ठूलो मुद्दा भएको बताएको बीबीसीले उल्लेख गरेको छ । चीनले ताइवानमा ठूलो आक्रमणको तयारी नगरेको सीको संकेत रहेको र शक्ति प्रयोग गर्न सकिने अवस्था बारे कुरा गरेको अमेरिकी अधिकारीले बताएका छन् ।

अमेरिकालाई ताइवानलाई हतियार दिन बन्द गर्न र ताइवान स्वतन्त्रतालाई समर्थन नगर्ने आफ्नो प्रतिबद्धतालाई सम्मान गर्न वास्तविक कदम चाल्न आग्रह गरेको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ । यस वर्षको शुरुमा अमेरिकाले चीनले आफ्नो आकाशमा जासुसी बेलुन पठाएको आरोप लगाएपछि सम्बन्ध थप चिसिएको थियो ।

अमेरिकी युद्ध विमानले साउथ क्यारोलाइनाको तटीय क्षेत्रमा त्यसलाई खसालिदिएको थियो । अघिल्लो वर्ष तत्कालीन अमेरिकी सभामुख नान्सी पेलोसीले पनि ताइवानको भ्रमण गर्नुभएको थियो । त्यसको परिणामस्वरूप चीनले दुई देशका सेनाहरूबीचको सम्बन्ध टुटाएको थियो

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्