किसानहरुको आह्वानमा आज भारत बन्द

रेडियो काठमाण्डु
  • ख-
  • ख+

४ फागुन, काठमाडौं । भारतका किसानहरुले आज देशभर बन्द आह्वान गरेका छन् ।

संयुक्त किसान मोर्चासहितका किसान संगठनहरुले संयुक्त रुपमा भारत बन्द आह्वान गरेका हुन् ।

बन्दका कारण राजधानी दिल्लीसहितका राज्यहरुमा कडा सुरक्षा प्रबन्ध मिलाइएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

किसानहरुको कृषि ऋण मिनाह हुनुपर्ने, उत्पादनको उचित मूल्य पाउनुपर्ने, विगतका आन्दोलनमा मुद्दा चलाइएका किसानहरुको मुद्दा फिर्ता लिनुपर्ने लगायतका माग राखेर भारतका किसानहरु आन्दोलनमा छन् ।

राजधानी नयाँदिल्ली पुगेर सरकारलाई आफ्ना माग सुनाउने भन्दै किसानहरुले यही फागुन १ गतेदेखि ‘दिल्ली जाऔं’ अभियान पनि सुरु गरेका थिए । तर विभिन्न प्रदेशहरुले नाका बन्द गरेर किसानहरुलाई रोकेका छन् ।

उनीहरु सडकमै खाने, बस्ने, सुत्ने गरिरहेका छन् । किसानहरुलाई रोक्ने क्रममा प्रहरीले ड्रोनबाट अश्रुग्याँस समेत प्रहार गरेको थियो ।

किसान प्रतिनिधि र सरकारबीच बिहीबार राति अबेरसम्म भएको वार्ता निष्कर्ष विहीन भएको थियो । भारतीय मिडियाहरुका अनुसार बिहीबार बेलुकी आठ बजेदेखि सुरु भएको वार्ता राति साढे १ बजेसम्म चलेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्