विश्वकप छनोट क्रिकेट वेष्ट इण्डिजसँगको खेल जित्न नेपालले पायो ३४० रनको लक्ष्य

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, ७ असार ।  कप्तान शाई होप र निकोलस पुरनको उत्कृष्ट शतकको सहयोगमा वेस्ट इन्डिजले नेपाललाई ३ सय ४० रनको लक्ष्य दिएको छ ।

जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपालले ३ सय ४० रनको लक्ष्य पाएको हो ।

जिम्बावेको राजधानीमा रहेको हरारे स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ३९ रन बनायो ।

वेस्ट इन्डिजका लागि शाई होप र निकोलस पुरनले शतकीय ईनिङ खेले । कप्तान शाई होपले १ सय २९ बलमा १० चौका र ३ छक्काको सहयोगमा १ सय ३२ रन बनाए । उनी ललित नारायण राजवंशीको बलमा आउट भए ।

नेपालले सुरुआत राम्रो गरेको थियो । पहिलो पावर प्लेमा नेपालले वेस्ट इन्डिजको दुई विकेट लिदै ३० रन मात्र दिएको थियो । नेपालले दोस्रो ओभरको तेस्रो बलमा नै पहिलो विकेट लिएको थियो । नेपालका लागि करण केसीले ओपनर कायल मेयर्सलाई १ रनमा आउट गराएका थिए ।

पाँचौं ओभरको पहिलो बलमा गुलसन झाले जोनसन चाल्र्सलाई आउट गराएका थिए । तेस्रो विकेटका लागि ब्रेन्डन किंग र कप्तान शाई होपले ६८ बलमा ४६ रनको साझेदारी गरेका थिए । यस साझेदारीको सहयोगमा वेस्ट इन्डिज खेलमा फर्कने कोशिश गरेको थियो ।

तर, ब्रान्डन किंग सन्दीप लामिछानेको बलमा आउट भएसँगै साझेदारी तोडिएको थियो । किंगले ४२ बलमा २ चौका र २ छक्काको सहयोगमा ३२ रन बनाए ।

चौथो विकेटका लागि कप्तान शाई होप र निकोलस पुरनले १ सय ७२ बलमा २ सय १६ रनको दोहोरो शतकीय साझेदारी गरेका थिए । पुरन ९४ बलमा १० चौका र ४ छक्काको सहयोगमा १ सय १५ रन बनाउँदै दीपेन्द्रसिंह ऐरीको बलमा आउट भए ।

पुरनले दुई पटक जीवनदान पाएका थिए । पहिलो पटक ललितको बलमा विकेटकिपर आसिफ शेखले एज लागेको बल क्याच मिस गरेका थिए । दोस्रो पटक पनि आसिफले नै करण केसीको बलमा क्याच मिस गरेका थिए ।

पहिलो पटक जीवनदान पाउँदा पुरन ३ रनमा खेलिरहेका थिए । दोस्रो जीवनदानमा भने पुरन ५४ रनमा खेलिरहेका थिए ।

पुरन आउट भए लगत्तै क्रिजमा आएका रोभमन पावलले कप्तान होपसँग मिलेर १९ बलमा ३९ रनको साझदारी गरे । १४ बलमा २९ रन बनाउँदै पावेल ललितनारायण राजवंशीको बलमा आउट भएका थिए ।

नेपालका लागि ललितनारायण राजवंशीले ३ तथा करण केसी, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र गुलसन झाले समान १/१ विकेट लिए ।

तेस्रो खेल खेल्दै गरेको नेपाल वेस्ट इन्डिजलाई हराएर प्रतियोगितामा दोस्रो जित हात पार्न चाहन्छ । पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग पराजित नेपालले दोस्रो खेलमा अमेरिकालाई पराजित गरेको थियो ।

नेपालले कुनै पनि विश्व बिजेतासँग पहिलो पटक खेल्ने अवसर पाएको हो । नेपालले यस अवसरलाई सदुपयोग गर्दै ऐतिहासिक जित निकाल्ने सोचमा नेपाल रहेको छ ।

पहिलो खेलमा अमेरिकालाई पराजित गरेको वेस्ट इन्डिज नेपाललाई पराजित गरि सुपर सिक्सको सम्भावना बलियो बनाउन चाहन्छ ।

नेपालले समूह चरणको अन्तिम खेलमा नेदरल्यान्डसँग २४ जुन अर्थात असार ९ मा खेल्नेछ ।

प्रतियोगितामा सहभागी १० टोलीमा दुई टोलीले भारतमा हुने विश्वकप खेल्न पाउनेछन् ।

प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा बिभाजन गरिएको छ । समूह ए मा नेपाल, नेदरल्यान्ड्स, अमेरिका, जिम्बावे र वेस्टइन्डिज छन् । समूह बी मा श्रीलंका, आयरल्यान्ड, ओमान, युएई र स्कटल्यान्ड छन् ।

हरेक समूहबाट शीर्ष तीन टोलीले सुपर सिक्समा स्थान बनाउने छन् । जसबाट सुपर सिक्समा अर्को समूहबाट आउने तीन टोलीसँग खेल्नुपर्ने हुन्छ ।

सुपर सिक्समा शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् । पूर्व विश्व च्याम्पियन वेस्टइन्डिज र श्रीलंकालाई उपाधिका प्रमुख दाबेदार मानिएको छ । जिम्बाबे पनि घरेलु मैदानको फाइदा उठाउँदै विश्वकप खेल्न चाहन्छ ।

नेपाल, स्कटल्यान्ड र ओमान आइसीसी विश्वकप लिग टू मा शीर्ष तीनमा रहँदै विश्वकप छनोट खेलिरहेका हुन् । अमेरिका र युएई लिग टू बाट घटुवा हुँदै विश्वकप छनोट प्लेअफमा शीर्ष दुईमा रहँदै विश्वकप छनोटमा आएका हुन् ।

श्रीलंका, आयरल्यान्ड, नेदरल्यान्ड्स, वेस्ट इन्डिज र जिम्बावे आइसीसी विश्वकप सुपर लिगमा पुछारमा रहँदै छनोट खेलिरहेका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्