इरानमा सरकारविरोधी प्रदर्शन चर्कियो, ४२ जनाको मृत्यु

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं : इरानको राजधानी तेहरान र दोस्रो ठूलो शहर मशहदसहित देशका विभिन्न भागमा सरकारविरोधी प्रदर्शन तीव्र बन्दै गएको छ। पछिल्ला वर्षहरूमै सबैभन्दा ठूलो संख्यामा नागरिक सडकमा उत्रिएको बीबीसीले जनाएको छ।

शान्तिपूर्ण रूपमा सुरु भएका प्रदर्शनहरू क्रमशः देशभर फैलिएका छन्। अवस्था नियन्त्रणबाहिर जान थालेपछि इन्टरनेट सेवा प्रदायकहरूले धेरै स्थानमा सेवा कटौती गरेका छन्। प्रदर्शनकारीहरूले सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईको राजीनामा माग गर्दै नारा लगाएका छन्।

यसका साथै उनीहरूले निर्वासित पूर्व युवराज रेजा पहलवीको पुनरागमनको समर्थनमा पनि नारा लगाएका छन्। केही समयअघि पहलवीले आफ्ना समर्थकलाई आन्दोलनमा उत्रन सार्वजनिक आह्वान गरेका थिए।

मानवअधिकार संस्थाहरूका अनुसार यो आन्दोलन इरानका सबै ३१ प्रान्तका १०० भन्दा बढी शहर र गाउँमा फैलिसकेको छ। एक अमेरिकी संस्थाको तथ्यांकअनुसार हालसम्म कम्तीमा ३४ जना प्रदर्शनकारी र ८ जना सुरक्षाकर्मी गरी ४२ जनाको ज्यान गएको छ। यसबाहेक झन्डै २ हजार ३ सयभन्दा बढी व्यक्ति पक्राउ परेका छन्। मृतकको संख्या अझै बढ्न सक्ने चेतावनी दिइएको छ।

कुर्द बाहुल्य क्षेत्रहरूमा विपक्षी समूहको आह्वानमा व्यापक हडताल भएको छ, जसले जनजीवन थप प्रभावित भएको छ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शनकारीमाथि दमन जारी रहे र थप ज्यान गुमे सैन्य हस्तक्षेप गर्न सकिने चेतावनी पुनः दोहोर्याएका छन्। यता, इरानी राष्ट्रपति मसूद पेजेश्कियानले सुरक्षा निकायलाई संयम अपनाउन निर्देशन दिएका समाचारमा उल्लेख छ।

इरानी मुद्रा रियालको ऐतिहासिक अवमूल्यन, ४० प्रतिशत नाघेको मुद्रास्फीति, व्यापक भ्रष्टाचार र गहिरिँदो आर्थिक संकटको विरोधमा आन्दोलन चर्किएको विश्लेषकहरूले बताएका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी