काठमाडौं, १ चैत। युनाइटेड अरब इमिरेट्स (यूएई)मा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपाली समुदायलाई सामाजिक सञ्जालमा अफवाह नफैलाउन र असुरक्षा सम्बन्धी सामग्री पोस्ट नगर्न आग्रह गरेको छ । पछिल्लो समय यूएईमा विकसित सुरक्षा परिस्थिति ध्यानमा राख्दै यस्तो आग्रह गरेको हो ।
दूतावासले जारी गरेको ‘एडभाइजरी–३’ मा यूएईको वर्तमान परिस्थितिसँग सम्बन्धित संवेदनशील सूचना, भिडियो वा तस्वीरहरू सामाजिक सञ्जाल वा अन्य डिजिटल माध्यमबाट पोस्ट, प्रसारण वा सेयर नगर्न अनुरोध गरिएको छ ।
यस्तो गतिविधिले सुरक्षा परिस्थितिबारे भ्रम फैलिन सक्ने भन्दै नेपालीहरूलाई जिम्मेवार बन्न दूतावासले अपिल गरेको हो ।
यूएईमा बसोबास गर्ने सबैले त्यहाँको कानुन पालना गर्नुपर्ने भएकाले गैरकानुनी तथा अनुमतिविनाका गतिविधिमा संलग्न नहुन पनि सचेत गराइएको छ ।
यस्ता कार्यमा संलग्न पाइए यूएईको कानुन अनुसार १ देखि ३ वर्षसम्म कैद सजाय र १ लाखदेखि २ लाख दिरामसम्म जरिबाना हुन सक्ने उल्लेख गरिएको छ ।
त्यस्तै मिसाइल वा ड्रोन अवरोध गर्दा जमिनमा खसेका अवशेष नजिक नजान, तस्वीर नखिच्न वा त्यसलाई सार्वजनिक नगर्न पनि दूतावासले आग्रह गरेको छ ।





