४ जेठ, काठमाडौं । नेपालले क्रिकेट विश्वकप लिग २ मा आज स्कटल्यान्डसँग खेल्दैछ। खेल विहान साढे ९ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ।
दुवै टोलीले यस सिरिजमा आफ्नो तेस्रो खेल खेलिरहेका छन्। स्कटल्यान्डले आफ्नो पहिलो दुवै खेलमा नेपाल र अमेरिकालाई समान २ रनले पराजित गरेको थियो।
यी दुई विजयका साथ स्कटल्यान्डले अमेरिकालाई उछिन्दै लिग २ को शीर्ष स्थानमा उक्लेको थियो। डिफेन्डिङ च्याम्पियन स्कटल्यान्डले ३० खेलमा ३८ अंक जोडिसकेको छ र टोलीले अब ६ खेल खेल्न बाँकी रहेको छ।
एउटा टोलीले लिग २ मा ३६ खेल खेल्न पाउने प्रावधान रहेको छ।
अमेरिका २६ खेलमा ३६ अंक जोडी दोस्रो स्थानमा छ। नेपाल २६ खेलमा २० अंक जोडी ८ राष्ट्र सहभागी प्रतियोगिताको सातौँ स्थानमा छ।
लिग २ का शीर्ष चार टोलीले सोझै विश्वकप छनोटमा जाने प्रावधान रहेको छ।
नेपालले स्कटल्यान्डलाई पराजित गरेमा क्यानडा र नामिबियालाई उछिन्दै पाँचौँ स्थानमा उक्लनेछ।
दीपेन्द्रसिंह ऐरीको ४ विकेट तथा कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटमा १ सय ४५ रनको साझेदारी गरेपछि नेपालले बिहीबार अमेरिकामाथि ९ विकेटको विजय हात पारेको थियो।
कुशलले अविजित १ सय २० रन बनाएपछि नेपालले २०२४–२७ लिग २ सर्कलमा पहिलो पटक अमेरिकामाथि विजय हात पार्न सफल भएको थियो।
नेपाल र स्कटल्यान्ड जारी लिग २ को सर्कलमा आमनेसामने हुँदा २–२ खेल जितेका छन् भने एक खेल वर्षाका कारण रद्द भएको थियो।





