४ जेठ, काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा यही जेठ महिनामा नवौँ राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता हुने भएको छ ।
प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरको अध्यक्षतामा सोमबार बसेको सचिवालय बैठकले उक्त प्रतियोगिता यही जेठ २९, ३० र ३१ गते नुवाकोटको विदुर नगरपालिकामा आयोजना गर्ने निर्णय गरेको हो ।
लोक तथा दोहोरी गीत क्षेत्रमा नयाँ एवं उदाउँदा प्रतिभाहरूलाई प्रोत्साहन गर्ने र उनीहरूको क्षमता प्रवर्द्धन गर्ने उद्देश्यले प्रतिष्ठानले यो प्रतियोगितालाई हरेक वर्ष नियमित रूपमा आयोजना गर्दै आएको उल्लेख गर्दै अध्यक्ष थापाले त्यसैलाई निरन्तरता दिएको बताइन् ।
गत वर्ष चितवनमा भव्यताका साथ सम्पन्न भएको यो राष्ट्रिय प्रतियोगिता यस वर्ष ऐतिहासिक तथा सांस्कृतिक भूमि नुवाकोटमा हुन लागेको उनको भनाई छ ।
विदुर नगरपालिकामा हुने यस वर्षको प्रतियोगिताले स्थानीय स्तरमा परम्परागत लोकसंस्कृतिको संरक्षण र प्रवर्द्धनमा टेवा पुर्याउनुका साथै देशभरबाट संकलन हुने कलाकारहरूबीच उत्कृष्ट र सिर्जनात्मक प्रतिस्पर्धा गराउने अपेक्षा प्रतिष्ठानले लिएको छ । प्रतियोगिताको विस्तृत कार्यतालिका र पुरस्कार राशिको बारेमा प्रतिष्ठानले छिट्टै थप जानकारी सार्वजनिक गर्ने जनाइएको छ ।





