कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकको समय एकमुस्ट नथप्ने, इतर समूहको अडान कायमै

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

२० जेठ, काठमाडौं । नेपाली कांग्रेसले पार्टीका क्रियाशील सदस्यता अद्यावधिक गर्न अब एकमुस्ट समय नथप्ने भएको छ । १५औँ महाधिवेशनका लागि नवीकरण गरेका क्रियाशील सदस्यहरूले अनिवार्य रूपमा ‘डिजिटली अद्यावधिक’ गर्नुपर्ने प्रावधान राखेको कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिले अब एकमुस्ट समय नथप्ने भएको हो ।

यद्यपि अहिलेसम्म निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहले भने १५औँ महाधिवेशनका लागि भन्दै नवीकरण गरिएका क्रियाशील सदस्यहरूले पुनः अद्यावधिक नगर्ने अडान कायमै राखेका छन् ।

महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा वैशाख ३१ गते बसेको बैठकले क्रियाशील सदस्यता वितरण, छुट नवीकरण र अद्यावधिक सम्बन्धी कार्य २०८३ जेठ २१ गतेभित्र अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने निर्णय गरेको थियो । त्यो समय भोलिसम्म मात्रै छ ।

अब छुट भएकाको हकमा एकमुस्ट समय नथपिने समितिका सदस्यसमेत रहेका कांग्रेस सहमहामन्त्री योगेन्द्र चौधरीले जानकारी दिए । ‘अब कोही छुटेका भए अद्यावधिक गर भनेर एकमुस्ट समय दिन सकिँदैन । जुन जिल्ला समितिले आग्रह गर्छ, त्यसलाई जति दिनमा सकिन्छ, त्यही अनुसार समय दिने हो,’ उनले रातोपाटीसँग भने, ‘त्यो पनि एक साताभित्र सक्नेगरी मात्रै दिन सकिन्छ । त्योभन्दा बढी समय दिइँदैन ।’

कुनै समितिले क्रियाशील सदस्यता अद्यावधिकसम्बन्धी काम गर्दै नगरेको भए त्यसको विकल्प खोज्ने तर उसलाई नै समय नदिने निष्कर्ष समितिको रहेको सहमहामन्त्री चौधरीले बताए । ‘अब कामै गरेको छैन भने त्यो तहको नेतृत्वकर्ताको विकल्प खोज्छौँ । गर भनेर थप समय दिँदैनौँ,’ उनले भने ।

तर, निवर्तमान सभापति शेरबहादुर देउवा समूहले क्रियाशील सदस्यता नवीकरण १५औँ महाधिवेशनका लागि गत पुस १० गते नै सकिइसकेको बताएको छ ।

समूहका नेता तथा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार विज्ञप्ति जारी गर्दै अद्यावधिक आवश्यक नरहेको प्रस्ट पारेका हुन् ।

‘१५औँ महाधिवेशनका लागि २०८२ पौष १० गतेसम्ममा टुङ्गिइसकेका र त्यसपछि नवीकरण तथा नयाँ वितरण भएका क्रियाशील सदस्यतालाई नै कायम गरी उनीहरू महाधिवेशनमा सहभागी हुने कुराको सुनिश्चितता गर्ने गराउने विषयमा हामी दृढ एवं प्रतिबद्ध रहेको कुरा स्वदेश तथा विदेशमा रहेका नेपाली कांग्रेस पार्टी र भ्रातृ तथा शुभेच्छुक संस्थाका विभिन्न तहका नेता, क्रियाशील सदस्य, समर्थक एवं शुभचिन्तक सम्पूर्ण साथीहरूलाई स्पष्ट एवं आश्वस्त पार्न चाहन्छौँ,’ खड्काले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

खड्काले जारी गरेको विज्ञप्तिबारे रातोपाटीको जिज्ञासामा सहमहामन्त्री चौधरीले आफूहरूले क्रियाशील सदस्यताका सम्बन्धमा गर्न लागेको कामबारे बुझाउन नसकेको बताए ।

‘निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काज्यूले क्रियाशील सदस्यताको सन्दर्भमा जुन विज्ञप्ति जारी गर्नुभएको छ, त्यसमा उहाँसहितका नेताहरूलाई हामीले बुझाउन सकेनौँ जस्तो लाग्छ,’ चौधरीले भने, ‘तत्कालीन महामन्त्री तथा अहिलेका सभापति गगन थापा नेतृत्वको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिले बनाएको क्रियाशील सदस्यता व्यवस्थापन समितिले नवीकरण गरेका सदस्यहरू सबै १५औँ महाधिवेशनका मतदाता हुन् । त्यसमा द्विविधा छैन । तर, जसरी आम निर्वाचनमा मतदान गर्न मतदाता कार्ड अनिवार्य छ । त्यसैगरी हामीले पनि पार्टीको अधिवेशन र महाधिवेशनमा मतदान गर्नका लागि कार्ड अनिवार्य गर्न लागेका हौँ । त्यो कार्ड पाउनका लागि सदस्यहरूलाई डिजिटल्ली अद्यावधिक गर्न पर्ने प्रावधान ल्याएका हौँ ।’

चौधरीले सदस्यता अद्यावधिक नभई कार्ड नदिइने र कार्ड नभएकाले अधिवेशनमा मतदानको अधिकार नपाउने बताए ।

क्रियाशील सदस्यता नवीकरण गरेकाहरूले अद्यावधिक गर्दा शुल्क भने तिर्न नपर्ने व्यवस्था कांग्रेसले गरेको छ ।

गत पुस अन्तिम साता तत्कालीन केन्द्रीय समितिको सहमतिबिना भएको विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गरेपछि कांग्रेसमा सुरु भएको विवाद कायमै छ । त्यो विवाद क्रियाशील सदस्यता नवीकरणमा पनि देखिएको छ ।

इतर समूह विशेष महाधिवेशन हुनु अगावै पुस १० गतेसम्म नवीकरण गरेकाहरूले पुनः अद्यावधिक गर भन्नु अव्यवहारिक भन्दै नगर्ने अडान लिइरहेको छ । संस्थापन भने समय सापेक्ष तरिकाले पार्टीका सदस्यहरूको तथ्याङ्क डिजिटल्ली रूपमा राख्न अद्यावधिक गर्नैपर्ने र नगर्नेले अधिवेशनमा भाग लिन नपाउने बताइरहेको छ । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी