काठमाडौं। हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ। जसका कारण मुलुकका हिमाली तथा पहाडी भू–भागमा आंशिक बादल लागेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बादल लाग्नेछ भने अन्य प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल रहनेछ।
यस्तै, मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागमा आंशिक बादल लाग्नेछ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
त्यसैगरी, आज राति देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ। तराई क्षेत्रका साथै उपत्यका र खोँचहरूका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।




