२२ जेठ, काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दै छ।
सिंहदरबारस्थित समितिको सभाकक्षमा दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न उपसमिति गठनदेखि स्थलगत अनुगमनका विषयमा छलफल हुने कार्यसूची रहेको छ ।
बैठकमा अघिल्ला बैठकका निर्णयहरूको कार्यान्वयन प्रगति सम्बन्धी जानकारी लिइनेछ । साथै समितिको कार्य सञ्चालनलाई प्रभावकारी बनाउन तीनवटा उपसमिति गठन गर्ने विषयमा पनि छलफल हुने कार्यसूचीमा तय गरिएको छ ।
बैठकले समितिको बैठक सञ्चालन कार्यविधि तयारी उपसमिति, समितिमा परेका विभिन्न उजुरी अध्ययन उपसमिति तथा समितिको कार्यक्षेत्र अन्तर्गतका मन्त्रालय र निकायहरूको कामकारबाही अध्ययन एवं निगरानी उपसमिति गठन गर्ने विषयमा छलफल गर्नेछ ।
त्यस्तै, समितिको कार्यक्षेत्रभित्र पर्ने विभिन्न निकायहरूको स्थलगत अनुगमन गर्ने सम्बन्धमा पनि बैठकमा छलफल हुने कार्यसूची रहेको छ ।





