२५ जेठ, काठमाडौं । सरकारले प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकमा आठ अध्यादेश पेस गरेको चार साता बितिसक्दा पनि त्यसको स्वीकृति प्रक्रिया अघि बढाइएको छैन ।
अध्यादेश स्वीकृत भएपछि प्रतिस्थापन विधेयक अघि बढाउनुपर्नेमा सरकार भने नयाँ विधेयक संसद् लैजाने छलफल गरिरहेको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले २२ वैशाखसम्म जारी गरेका आठ अध्यादेश २८ वैशाखमा संसद्मा पेस गरिएको थियो । त्यसपछि ‘अध्यादेश स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नुपर्ने थियो । तर त्यसका लागि प्रक्रिया नै अघि बढाइएको छैन । ‘अध्यादेश पेस भएपछि अरू प्रक्रिया अघि बढेको छैन, प्रतिनिधिसभाको २५ जेठको कार्यसूचीमा पनि यो छैन । त्यसपछि पनि अध्यादेश अघि बढ्ने वा नबढ्ने विषय सरकारमै निर्भर रहनेछ,’ संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले भने ।
प्रतिनिधिसभाले आगामी १५ असारसम्मका लागि ल्याएको संसदीय क्यालेन्डरमा पनि अध्यादेश स्वीकृत गर्ने विषय समावेश छैन । सदनमा पेस भएको ६० दिनभित्र दुवै सदनबाट अध्यादेश पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण गरिएपछि स्थायी ऐनमा रूपान्तरित हुने संवैधानिक व्यवस्था छ । संसद्को पहिलो बैठकमा पेस भएको ६० दिनभित्र कुनै निर्णय नभए पनि अध्यादेश स्वतः निष्क्रिय हुन्छ । त्यसैले कुनै प्रक्रियामा लगिएन भने पनि २६ असारपछि अध्यादेश स्वतः निष्क्रिय हुनेछ । संसद् बैठकमा विपक्षीहरूको अवरोध चलिरहेकाले सरकार र संसद् दुवै बजेटसम्बन्धी विधेयक पारित गराउने दबाबमा छन् ।





