२७ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमतीको अधिवेशनमा सहभागी प्रतिनिधि मध्ये चार सय जनाको विरुद्धमा उजुरी परेको छ ।
मंगलबारदेखि सुरु भएको अधिवेशनमा प्रतिनिधिका विरुद्द परेको उजुरी र विवादमा समाधानका लागि निर्वाचन प्रक्रिया रोकिएको छ । पार्टी समायोजनका क्रममा भित्रिएका सदस्यबाट बनेका प्रतिनिधिहरू विरुद्ध उजुरी परेको थियो ।
बुधबार बिहान ८ बजेदेखि मतदान प्रक्रिया सुरु गर्ने कार्यतालिका बनाइए पनि समयमा मतदान हुन नसकेपछि प्रतिनिधिहरू घर फर्कन लागेका थिए । निर्वाचन आयोगले मतपत्रमा देखिएको त्रुटि सच्याउन, समायोजनको सूचीमा रहेका प्रतिनिधिको विवाद समाधान गर्न र समिति व्यवस्थापनका लागि निर्वाचन प्रक्रिया स्थगित गर्नुपरेको निर्वाचन समितिले जानकारी गराएको छ । निर्वाचन समितिका अनुसार अधिवेशनका लागि १३ सय बढी प्रतिनिधि छनोट भएका थिए ।
प्रावधिक र व्यवस्थापकीय कार्य सकिएपछि मतदानका लागि २४ घण्टा अघि जानकारी गराउने निर्वाचन समितिले जनाएको छ ।
बागमतीको पहिलो अधिवेशनमा सभापतिका लागि चार जनाले उम्मेदवारी दर्ता गरेका छन् अच्युत्तम लामिछाने, उत्सव अर्याल, कृष्णमान श्रेष्ठ र हरिबहादुर क्षेत्रीले सभापतिमा उम्मेदवारी दिएका छन् ।
रास्वपा विधान अनुसार ६५ सदस्यीय बागमती प्रदेश समिति हुने व्यवस्था छ ।





