विश्वकपअघि इंग्ल्यान्ड टोलीको प्रशिक्षण सामग्री चोरी

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । फिफा विश्वकप २०२६ को तयारीमा रहेको इंग्ल्यान्ड राष्ट्रिय फुटबल टोलीलाई प्रतियोगिता सुरु हुनुअघि अप्रिय झट्का लागेको छ। टोलीका प्रशिक्षण सामग्रीहरू क्यान्सस सिटी पुग्नुअघि चोरी भएका छन्।

इंग्ल्यान्ड फुटबल संघ (एफए)ले के–के सामग्री चोरी भयो भन्नेबारे अनुसन्धान गरिरहेको जनाएको छ। प्रारम्भिक जानकारीअनुसार फुटबल, खेलाडीका बुटलगायतका सामग्री चोरी भएको आशंका गरिएको छ।

यी सामग्रीहरू क्यान्सस सिटीस्थित स्वोप सोकर भिलेजमा रहेको इंग्ल्यान्ड टोलीको प्रशिक्षण केन्द्रतर्फ लैजाँदै गर्दा सवारीसाधनमा तोडफोड गरी चोरी गरिएको बताइएको छ।

मुख्य प्रशिक्षक थोमस टुकेल र उनको टोली शनिबार अपराह्न क्यान्सस सिटी पुग्ने कार्यक्रम रहेको थियो। प्रशिक्षण सामग्री भने टोली आउनुअघि नै प्रशिक्षण केन्द्रमा पुर्‍याउने तयारी गरिएको थियो।

घटनापछि प्रहरी अधिकारीहरू शुक्रबार राति घटनास्थलमा पुगेका थिए र उनीहरूले एफएसँग समन्वय गरेर अनुसन्धान अघि बढाइरहेका छन्। घटनासम्बन्धी अनुसन्धानका क्रममा दुई जनालाई पक्राउ गरिएको जनाइएको छ।

यो चोरीले बुधबार हुने क्रोएसियाविरुद्धको विश्वकप उद्घाटन खेलको तयारीमा केही असर पार्न सक्ने अनुमान गरिएको छ। इंग्ल्यान्डले आइतबार आफ्नो पहिलो पूर्ण प्रशिक्षण सत्र सञ्चालन गर्ने तालिका छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्