२८ वर्षपछि विश्वकपमा फर्किएको स्कटल्यान्डको पहिलो खेलमै जित

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको


३१ जेठ, काठमाडौं ।२८ वर्षपछि विश्वकपमा फर्किएको स्कटल्यान्डले आफ्नो पहिलो खेलमै जित निकाल्दै सुखद सुरुआत गरेको छ

समूह ‘सी’ अन्तर्गत बोस्टन नजिकैको गिलेट स्टेडियममा भएको खेलमा स्कटल्यान्डले हाइटीलाई १–० ले पराजित गर्यो।

स्कटल्यान्डका कप्तान जोन म्याकगिनले खेलको २८औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। उनको प्रहार विपक्षी खेलाडीको खुट्टामा लागेर दिशा परिवर्तन हुँदै गोलमा परिणत भएको थियो।

६४ हजार दर्शक क्षमताको स्टेडियममा अधिकांश स्कटिस समर्थक उपस्थित थिए। सन् १९९८ यता पहिलो पटक विश्वकप खेलेको स्कटल्यान्डलाई समर्थन गर्न हजारौं समर्थक अमेरिका पुगेका छन्। जितसँगै स्कटल्यान्ड समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ।

यो स्कटल्यान्डको विश्वकपमा सन् १९९० पछि पहिलो जित हो। त्यसबेला उसले स्विडेनलाई २–१ ले हराएको थियो।

साथै, यो कुनै पनि प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगितामा स्कटल्यान्डको ३० वर्षयताकै पहिलो जित पनि हो। यसअघि उसले सन् १९९६ को युरोकपमा जित निकालेको थियो।

प्रशिक्षक स्टिभ क्लार्कको टोली विश्वकप इतिहासमै पहिलो पटक नकआउट चरण पुग्ने लक्ष्यमा छ।

स्कटल्यान्डले अहिलेसम्म विश्वकपको समूह चरण पार गर्न सकेको छैन।

हाइटी फिफा वरीयतामा ८४औँ स्थानमा रहेको प्रतियोगिताकै कमजोर टोलीमध्ये एक मानिन्छ। मोरक्को र ब्राजिलजस्ता कठिन प्रतिद्वन्द्वी सामना गर्नुअघि हाइटीलाई हराउनु स्कटल्यान्डका लागि अत्यन्त महत्वपूर्ण थियो।

खेलको १७औँ मिनेटमा स्कट म्याकटोमिनेले स्कटल्यान्डलाई अग्रता दिलाउने अवसर पाएका थिए। बेन ग्यानन–डोकको पासमा आएको बललाई उनले शक्तिशाली प्रहार गरे पनि बल पोस्टमा ठोक्किएको थियो।

तर २८औँ मिनेटमा स्कटल्यान्डले अग्रता लिन सफल भयो। चे एडम्सले हाइटीको डिफेन्सलाई दबाबमा पारेपछि ग्यानन–डोकको पास जोन म्याकगिनसम्म पुगेको थियो। उनले गरेको प्रहार बेलेगार्डको खुट्टामा लाग्दै गोलमा परिणत भयो।

अग्रता लिएपछि स्कटल्यान्डले खेल नियन्त्रणमा राख्न सकेन। हाइटीले लगातार दबाब सिर्जना गर्दै बराबरी गोलको खोजी गर्यो। फ्रान्समा जन्मिएका विंगर रुबेन प्रोभिडेन्सले बारम्बार स्कटिस डिफेन्डलाई चुनौती दिए।

खेलको ८५औँ मिनेटमा हाइटी बराबरी गोल नजिक पुगेको थियो। स्ट्राइकर फ्रान्ट्ज्डी पिएरोको शक्तिशाली हेडर गोलपोस्टबाट थोरैले बाहिरिएपछि स्कटल्यान्डले राहतको सास फेर्यो।

राजनीतिक तथा सामाजिक अस्थिरताका कारण घरेलु मैदानमा छनोट खेल खेल्न नपाए पनि विश्वकपमा स्थान बनाउन सफल भएको हाइटीको यात्रा यस प्रतियोगिताकै प्रेरणादायी कथामध्ये एक मानिएको छ। यद्यपि अनुभव र गुणस्तरका हिसाबले स्कटल्यान्ड बलियो देखियो।

अब स्कटल्यान्डले शुक्रबार मोरक्कोसँग खेल्नेछ। त्यसपछि उसले मियामीमा ब्राजिलको सामना गर्ने तालिका छ। अर्को खेलमा हाइटीले फिलाडेल्फियामा ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्