पहिलोपटक विश्वकप खेलेको जोर्डन अष्ट्रियासँग पराजित

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

३ असार, काठमाडौं । अष्ट्रियाले फिफा विश्वकप–२०२६ मा विजयी सुरुवात गरेको छ ।

अमेरिका क्यार्लिफोर्नियास्थित सान फ्रान्सिस्को वे एरिया रंगशालामा बुधबार भएको आफ्नो पहिलो खेलमा अष्ट्रियाले जोर्डनलाई ३–१ ले पराजित गर्‍यो ।

अष्ट्रियाको जितमा रोमानो स्चमिड र मार्काे अर्नाटोभिकले एकएक गोल गर्दा एक गोल उपहार पायो । खेलको २०औं मिनेटमा रोमानोले गोल गर्दै अष्ट्रियालाई अग्रता दिलाएका थिए । तर, ५०औं मिनेटमा अली ओल्वानले गोल गर्दै जोर्डनलाई बराबरीमा फर्काए ।

खेलको ७६औं मिनेटमा जोर्डनका याजान अलारबले आत्मघाती गोल गर्दा अष्ट्रियाले दोस्रोपटक अग्रता लिने अवसर पायो ।

दोस्रो हाफको इन्जुरी समयमा डिबक्सभित्र जोर्डनका खेलाडीको हातमा बलले लागेपछि अष्ट्रियाले पेनाल्टी पाएको थियो । जसलाई मार्काेले सदुपयोग गर्दै गोल गरे । जितसँगै ३ अंक जोडेर अष्ट्रिया समूह ‘जे’को दोस्रो स्थानमा छ । समान ३ अंक रहेको अर्जेन्टिना गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ । जोर्डन र अल्जेरिया अंकविहीन छन् ।

आठौंपटक विश्वकप खेलेको अष्ट्रिया सन् १९५४ मा भएको विश्वकपमा तेस्रो बनेको थियो । पछिल्लोपटक सन् १९९८ मा विश्वकप खेलेको अष्ट्रिया २८ वर्षपछि विश्वकपमा फर्किएको हो । एसियाली राष्ट्र जोर्डन पहिलोपटक विश्वकपको मैदानमा पुगेको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी