काठमाडौँ । संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा आयोजना भइरहेको २०२६ फिफा विश्वकपको समूह चरण अन्तर्गत दोस्रो चरणका खेलहरू सकिँदै गर्दा नकआउट समीकरण चाखलाग्दो मोडमा पुगेको छ।
इतिहासमै पहिलो पटक ४८ टोलीहरू सहभागी यस महाकुम्भमा १२ वटा समूह विभाजन गरी खेलहरू भइरहेका छन्। हालसम्मका खेलहरूको नतिजा अनुसार केही बलिया टोलीहरूले अन्तिम ३२ अर्थात नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन् भने केही टोलीहरूको यात्रा समूह चरणबाटै समाप्त हुने निश्चित भइसकेको छ। बाँकी समूहहरूमा भने अन्तिम खेल अगावै ठुलो फेरबदलको सम्भावना कायमै रहेको छ।
सुरुवाती दुवै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ६ वटा देशहरूले गणितीय रूपमा नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन्। आयोजक मेक्सिको (समूह ए) र संयुक्त राज्य अमेरिका (समूह डी) सँगै युरोपेली जाइन्ट जर्मनी (समूह इ) ले लगातार दुई जित निकाल्दै अघिल्लो चरण तय गरेका हुन्।
यस्तै समूह ‘आइ’ बाट फ्रान्स र नर्वे दुवैले आफ्ना सुरुवाती दुई खेल जित्दै अन्तिम ३२ मा स्थान पक्का गरिसकेका छन् भने साविक विजेता अर्जेन्टिनाले पनि स्टार खेलाडी लियोनेल मेसीको कीर्तिमानी गोलको मद्दतले अस्ट्रियालाई २-० ले हराउँदै समूह ‘जे’ बाट नकआउट यात्रा निश्चित गरिसकेको छ।
अर्कोतर्फ, खराब प्रदर्शनका कारण ३ वटा देशहरूको विश्वकप यात्रा समूह चरणबाटै समाप्त हुने निश्चित भएको छ। सुरुवाती दुवै खेलमा पराजय भोगेका समूह ‘सी’ को हाइटी, समूह ‘डी’ को टर्की र समूह ‘एफ’ को ट्युनिसिया गणितीय रूपमा नै प्रतियोगिताबाट बाहिरिइसकेका छन्। यी टोलीहरूका लागि समूह चरणको अन्तिम खेल केवल प्रतिष्ठाको लडाइँ मात्र हुनेछ।
यस पटकको विश्वकपमा प्रत्येक समूहका शीर्ष दुई टोलीसँगै उत्कृष्ट तेस्रो हुने ८ वटा टोलीहरू पनि नकआउट चरणमा पुग्ने हुनाले बाँकी रहेका लगभग सबै समूहमा व्यापक फेरबदलको सम्भावना जीवितै छ। विशेष गरी समूह ‘बी’, ‘सी’, ‘एफ’, ‘जी’ र ‘एच’ मा तीव्र प्रतिस्पर्धा देखिएको छ।
समूह ‘बी’ मा क्यानडा र स्विट्जरल्याण्ड समान ४ अंकसहित शीर्ष स्थानमा छन् र उनीहरूको आगामी खेलले समूह विजेताको टुङ्गो लगाउनेछ। समूह ‘सी’ मा ब्राजिल र मोरक्कोको समान ४ अंक भए पनि स्कटल्याण्ड ३ अंकसहित उनीहरूलाई चुनौती दिइरहेको छ।सबैभन्दा रोचक स्थिति समूह ‘जी’ र ‘एच’ मा बनेको छ, जहाँ कुनै पनि टोलीले अहिलेसम्म पूर्ण रूपमा नकआउटको टिकट काट्न सकेका छैनन्।
समूह ‘एच’ मा साउदी अरेबियालाई ४-० ले पराजित गर्दै स्पेन ४ अंकसहित शीर्ष स्थानमा उक्लिए पनि उरुग्वे र केप भर्डेको समान २ अंक रहेकाले अन्तिम खेल निकै निर्णायक हुने देखिन्छ। समूह ‘के’ र ‘एल’ मा भने टोलीहरूले अहिलेसम्म एक-एक खेल मात्र खेलेका हुनाले आगामी खेलहरूले सम्पूर्ण समीकरणलाई उथलपुथल पार्ने सम्भावना बलियो छ।
समूह ‘आइ’ मा फ्रान्स र नर्वेको समान ६ अंक छ भने सेनेगल र इराकको ० अंक छ। अन्तिम खेलमा सेनेगल र इराकबीच नै प्रतिस्पर्धा हुँदैछ। यदि यो खेलमा कुनै एक टोलीले ठुलो गोल अन्तरले जित निकालेमा उसको ३ अंक हुनेछ र अन्य समूहका तेस्रो हुने टोलीहरूको नतिजा अनुकूल आएमा उत्कृष्ट तेस्रो बन्दै नकआउट पुग्ने गणितीय सम्भावना अझै बाँकी रहन्छ।





