रेफ्रीको भूमिकाबारे फ्रान्सका मुख्य प्रशिक्षकको प्रश्न- साँच्चै उनी सेमिफाइनल खेलाउन योग्य थिए?

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

विश्वकप सेमिफाइनलमा स्पेनसँग २–० ले पराजित भएपछि फ्रान्सका मुख्य प्रशिक्षक डिडिएर डेसच्याम्प्सले रेफ्री इभान आर्सिदेस बार्टोन सिसनेरोको निर्णयमाथि प्रश्न उठाएका छन्।

उनले विशेषगरी स्पेनले पाएको पेनाल्टीसहित रेफ्रीको समग्र प्रदर्शनबारे असन्तुष्टि जनाएका हुन्।

खेलको २२औँ मिनेटमा लामिन यमाललाई फ्रान्सका डिफेन्डर लुकास डिनले फल गरेपछि रेफ्रीले स्पेनलाई पेनाल्टी दिएका थिए। उक्त अवसरलाई मिकेल ओयारजाबालले गोलमा परिणत गर्दै स्पेनलाई अग्रता दिलाएका थिए।

‘यदि मैले धेरै कुरा भनेँ भने हारको बहाना खोजिरहेको जस्तो देखिनेछ। तर म तपाईंहरूलाई एउटा प्रश्न सोध्न चाहन्छु– के यी रेफ्री साँच्चै विश्वकपको सेमिफाइनल खेलाउन योग्य थिए?,’ उनले भने।

उनले विषय पेनाल्टीको मात्रै नभएको पनि बताए।

‘कुरा पेनाल्टीको मात्रै होइन। त्यसबाहेक पनि धेरै निर्णयहरू थिए। आजको रेफ्रीसँग मेरो व्यक्तिगत कुनै समस्या छैन, तर तपाईंहरू आफैँले सोच्नुस्,’ खेलपछि पत्रकारहरूसँग कुरा गर्दै उनले भने।

यद्यपि डेसच्याम्प्सले हारको मुख्य कारण रेफ्री नभई आफ्नै टोलीको कमजोर प्रदर्शन भएको पनि स्वीकार गरे।

‘हामीसँग जित्ने आशा राख्ने हो भने उत्कृष्ट प्रदर्शन गर्नैपर्थ्यो। दुर्भाग्यवश हामी त्यो स्तरमा पुग्न सकेनौँ,’ उनले भने।

स्पेनले फ्रान्सलाई खेलभर दबाबमा राखेको पनि उनले स्वीकार गरे।

Ncell
‘स्पेनले आज असाध्यै राम्रो रक्षात्मक खेल खेल्यो। उनीहरूले हामीलाई निकै कम ठाउँ दिए। त्यसमा पनि हामीले धेरै प्राविधिक गल्ती गर्‍यौं,’ उनले भने, ‘जसले गर्दा उनीहरूलाई समस्या दिनै सकेनौँ। अघिल्ला खेलहरूको तुलनामा हाम्रो प्राविधिक स्तर निकै कमजोर रह्यो।’

उनले स्पेन बल पास गर्ने, खेल बुझ्ने र पास काट्ने क्षमतामा पनि फ्रान्सभन्दा उत्कृष्ट देखिएको बताए।

‘हामीले कुनै समाधान नै भेट्टाउन सकेनौँ। हाम्रो आक्रमण र प्राविधिक खेल अचानक हराएको होइन, त्यसमा स्पेनको पनि ठूलो भूमिका थियो। तर स्पेनजस्तो टोलीविरुद्ध विश्वकपको सेमिफाइनल जित्न आफ्नो शतप्रतिशत क्षमता देखाउनुपर्छ। आज राति फ्रान्स त्यो स्तरमा थिएन,’ उनले भने।

यस हारसँगै फ्रान्स लगातार तेस्रो पटक विश्वकपको फाइनल पुग्ने अवसरबाट वञ्चित भएको छ।

डेसच्याम्प्सको १४ वर्ष लामो फ्रान्सको प्रशिक्षक यात्रासमेत शनिबार हुने तेस्रो स्थानको खेलसँगै समाप्त हुनेछ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी