इरान थप आक्रामक, दबाबमा अमेरिका

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

जोर्डनस्थित अमेरिकी सैन्य अड्डामाथि इरानले गरेको आक्रमणमा तीन अमेरिकी सैनिक मारिएपछि अमेरिकाले इरानविरुद्ध युद्ध सुरु गरेको पाँच महिना बितिसक्दा पनि इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) अझै घातक क्षति पुर्‍याउन सक्षम रहेको देखिएको छ ।

गत शुक्रबार भएको उक्त आक्रमणपछि मार्च १ यता पहिलोपटक इरानी आक्रमणमा अमेरिकी सैन्य अड्डामा तैनाथ अमेरिकी सैनिकको मृत्यु भएको हो । मार्च १ मा अमेरिका र इजरायलले इरानविरुद्ध युद्ध सुरु गरेको केही घण्टामै इरानले अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको थियो ।

यद्यपि अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले भने आक्रमणबारे विस्तृत विवरण सार्वजनिक गरेको छैन । विश्लेषकहरूका अनुसार यो घटनाले एउटा असहज वास्तविकता उजागर गरेको छ । लगातार अमेरिकी हवाई आक्रमणका बाबजुद पनि इरानसँग दीर्घकालीन असीमित युद्ध जारी राख्न आवश्यक सैन्य क्षमता अझै कायम छ ।

थिंक ट्याङ्क डिफेन्स प्रायोरिटिजकी सैन्य विश्लेषण निर्देशक जेनिफर काभानाघले अल जजिरासँग भनिन्, ‘इरानको सैन्य क्षमता अझै पनि निकै बलियो छ । अपेक्षा गरिएकोभन्दा छिटो उसले आफ्नो क्षमता पुनः निर्माण गरेको छ ।’

उनका अनुसार इरानका आक्रमणहरू समयसँगै अझ बढी सटीक बन्दै गएका छन्, जसमा सम्भवतः रुस र चीनबाट प्राप्त गुप्तचर सहयोगको भूमिका रहेको हुन सक्छ ।

‘पेन्टागनले दाबी गरेजस्तो इरानी सेना युद्ध लड्न अक्षम भएको छैन । उसले ठुलो क्षति बेहोरेको छ, तर अनुभवबाट सिक्दै र आफूलाई अनुकूल बनाउँदै गएको छ,’ उनले भनिन् ।

इरान अझै अमेरिकी सैनिक मार्न कसरी सक्षम छ ?

लन्डनको किङ्स कलेज अन्तर्गत सुरक्षा अध्ययन विभागका वरिष्ठ प्राध्यापक आन्द्रेयास क्रिगका अनुसार यसका पछाडि धेरै कारण छन् । मुख्य कारण भनेको मध्यपूर्व र खाडी क्षेत्रमा फैलिएका अमेरिकी सैन्य अड्डाहरूको अवस्थिति र संरचना हो ।

उनका अनुसार करिब ५० हजार अमेरिकी सैनिक इरानका बढ्दो क्षमतायुक्त मिसाइल र ड्रोनको मारभित्र पर्ने स्थायी सैन्य अड्डाहरूमा तैनाथ छन् । तीमध्ये धेरै सैनिक अर्धस्थायी भवनहरूमा बसोबास गर्छन्, जुन रकेट, मोर्टार तथा घरेलु विस्फोटकबाट जोगिन बनाइएका हुन् । तर ठुलो वारहेड बोकेका सटीक ब्यालिस्टिक मिसाइलबाट सुरक्षा दिन ती पर्याप्त छैनन् ।

यसका कारण यस्ता आक्रमणले ठुलो क्षति पुर्‍याउन सक्छ । मिसाइल प्रत्यक्ष नलागे पनि विस्फोटबाट उत्पन्न हुने अत्यधिक दबाबले मस्तिष्कमा गम्भीर चोट पुर्‍याउन सक्छ भने रोकेर खसालिएका मिसाइलका टुक्राले पनि क्षति हुन सक्छ ।

अमेरिकी क्षतिको विवरण

हालसम्म युद्धमा १८ अमेरिकी सैनिकको मृत्यु भइसकेको अमेरिकी सेनाले जनाएको छ । यसमध्ये मार्च १ मा कुवेतस्थित ट्याक्टिकल अपरेसन सेन्टर र साउदी अरबको प्रिन्स सुल्तान एयरबेसमा भएको इरानी आक्रमणमा सात सैनिक मारिएका थिए ।

जोर्डनमा मारिएका तीन सैनिकबाहेक अन्य मृत्यु प्रत्यक्ष रूपमा इरानी आक्रमणका कारण नभएको अमेरिकी सेनाको भनाइ छ । तीमध्ये मार्चमा आकस्मिक इन्धन भर्ने क्रममा भएको विमान दुर्घटनामा छ जना वायुसेनाका सदस्य मारिएका थिए भने हालै इराकमा खसालिएको सशस्त्र ड्रोन निष्क्रिय पार्ने क्रममा एक सैनिकको मृत्यु भएको थियो ।

युद्ध सुरु भएयता करिब ५०० अमेरिकी सैनिक घाइते भएका छन् । जुलाई ८ मा युद्धविराम भंग भएपछि अमेरिकी सेनाका करिब २२० सैन्य संरचना, भवन तथा प्रमुख उपकरण क्षतिग्रस्त वा नष्ट भएको जनाइएको छ ।

अमेरिकी हवाई प्रतिरक्षामाथि दबाब

क्रिगका अनुसार इरानले आफ्नो बढ्दो क्षमतायुक्त मिसाइल तथा ड्रोन प्रयोग गरेर अमेरिकी हवाई प्रतिरक्षा प्रणालीलाई थकित बनाउने रणनीति अपनाएको छ ।

इरानसँग विभिन्न प्रकारका ब्यालिस्टिक मिसाइल, क्रुज मिसाइल र सशस्त्र ड्रोन छन्, जसले फरक–फरक गति र दिशाबाट लक्ष्यमा पुग्न सक्छन् । नक्कली लक्ष्य (डिकोय) तथा विभिन्न स्थानबाट एकैपटक प्रहार गर्ने रणनीतिले अमेरिकी प्याट्रियट र टर्मिनल हाई अल्टिच्युड एरिया डिफेन्स (थाड) प्रणालीको प्रभावकारिता घटाउने गरेको उनले बताए ।

‘धेरैजसो मिसाइल रोकिन्छन् । तर प्रतिरक्षा प्रणाली छलेर भित्र पसेका थोरै मिसाइलले पनि ठुलो मानवीय क्षति गराउन सक्छन्,’ उनले भने ।

इरानका आक्रमण थप आक्रामक

स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिज केन्द्र (सिएसआईएस) अन्तर्गत मध्यपूर्व कार्यक्रमकी निर्देशक मोना याकुबियनका अनुसार पछिल्ला आक्रमणमा इरानले अमेरिकी सैन्य सम्पत्तिलाई प्रत्यक्ष निशाना बनाउने उद्देश्य पहिलेभन्दा स्पष्ट देखिएको छ ।

उनले भनिन्, ‘यो युद्धको सुरुआती चरणको तुलनामा अहिले इरानी आक्रमणको तीव्रता र लक्ष्य भेदनमा नयाँ प्रवृत्ति देखिएको छ ।’

उनका अनुसार पछिल्लो आक्रमणमा भएको ठुलो क्षति इरानी मिसाइलको बढ्दो सटीकता, अमेरिकी राडार तथा प्रतिरक्षा प्रणाली कमजोर हुनु वा ठुलो संख्यामा प्रहार गरिएकाले केही मिसाइल लक्ष्यमा पुग्न सफल हुनुजस्ता कारणको संयुक्त परिणाम हुन सक्छ ।


बुधबारसम्म अमेरिका र इरानबीच लगातार ११ दिनदेखि एकअर्कामाथि आक्रमण जारी थियो । इरानी सेनाले हालै जोर्डनस्थित प्रिन्स हसन र किङ फैसल सैन्य अड्डामा रहेका एफ–१५ लडाकु विमान, ड्रोन तयारी स्थल तथा हेलिकोप्टर भण्डारण केन्द्रलाई निशाना बनाएको जनाएको छ । उता बहराइनले पनि इरानबाट प्रहार गरिएका धेरै हवाई आक्रमणलाई निष्क्रिय पारेको जानकारी दिएको छ ।

यसैबीच अमेरिकी सेनाले होर्मुज जलडमरूमध्य आसपासका विभिन्न स्थानमा लगातार आक्रमण गरिरहेको छ । अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (सेन्टकम) का अनुसार इरानका सैन्य अपरेसन केन्द्र, सामुद्रिक क्षमता, विमान ह्याङ्गर, ड्रोन भण्डारण केन्द्र तथा सैन्य रसद पूर्वाधारलाई लक्ष्य बनाइएको छ ।

‘इरानसँग अझै धेरै विकल्प छन्

बुधबार अमेरिकी सिनेटमा रक्षा मन्त्री पिट हेगसेथसँग इरानको सैन्य क्षमता ‘व्यवहारिक रूपमा ध्वस्त भएको’ भन्ने उनको दाबीबारे प्रश्न सोधिएको थियो ।

सिनेटर जोन ओसोफले सोधे, ‘तपाईंले युद्धको दोस्रो सातामा इरानको सेना ध्वस्त भइसकेको र युद्ध लड्न अक्षम भएको बताउनुभएको थियो । के त्यो दाबी सही थियो ?’

हेगसेथले युद्धलाई ‘ऐतिहासिक सैन्य विजय’ भन्दै इरानको नौसेना, वायुसेना र रक्षा उद्योगलाई ठुलो क्षति पुगेको दाबी गरे ।

तर उनले स्वीकारे, ‘हामीले इरानले पूरै प्रहार गर्न छाड्छ भन्ने अपेक्षा गरेका थिएनौं । प्रश्न भनेको अमेरिकाजस्तो शक्तिशाली प्रतिद्वन्द्वीविरुद्ध उनीहरूले कति ठुलो स्तरमा आक्रमण गर्न सक्छन् भन्ने हो ।’

मिडिल इस्ट इन्स्टिच्युटका वरिष्ठ अनुसन्धानकर्ता तथा पूर्व पेन्टागन अधिकारी जेसन क्याम्पबेलका अनुसार अमेरिकी आक्रमणहरूले एउटा कुरा स्पष्ट पारेका छन् । त्यो हो, इरानसँग मिसाइल र ड्रोन क्षमता मात्र होइन, युद्धको सुरुआतमा प्रयोग नगरेका केही उन्नत हतियार पनि अझै बाँकी छन् ।

उनले भने, ‘इरानसँग युद्धको प्रारम्भिक चरणमा प्रयोग नगरेका धेरै विकल्प थिए । आवश्यक ठानेमा उसले ती पछि प्रयोग गर्न सक्छ ।’

उनका अनुसार इरानले ठूला तथा उच्च क्षमतायुक्त ब्यालिस्टिक मिसाइल प्रयोग गर्न थालेको छ, जसले उच्च सटीकतासहित प्रहार गर्न सक्छ र हवाई तथा मिसाइल प्रतिरक्षा प्रणाली छल्ने क्षमता पनि राख्छ ।

क्याम्पबेलले अमेरिकी नेतृत्वले इरानको सैन्य क्षमता कमजोर भएको दाबी अतिरञ्जित गरेको आरोप पनि लगाए ।

कम लागतमा ठुलो क्षति

बाथ विश्वविद्यालयका वरिष्ठ सहप्राध्यापक तथा पूर्व नेटो विश्लेषक प्याट्रिक ब्युरीका अनुसार विशाल सैन्य शक्ति हुँदाहुँदै पनि अमेरिका एउटा आधारभूत समस्यासँग जुधिरहेको छ ।

उनले भने, ‘इरानले उत्पादन गर्ने ड्रोन र मिसाइलको लागत ती रोक्न आवश्यक पर्ने अमेरिकी प्रतिरक्षा प्रणालीको तुलनामा निकै कम छ ।’

उनका अनुसार यही असमान लागत संरचनाका कारण इरानले रणनीतिक रूपमा अमेरिकालाई लगातार क्षति पुर्‍याउन सकेको हो ।

क्रिगको निष्कर्ष पनि यही छ । ‘इरानले अमेरिकालाई सैन्य रूपमा पराजित गर्न आवश्यक छैन । उसले अमेरिकी प्रतिरक्षा प्रणाली कहिलेकाहीँ मात्र छल्न सके पनि अमेरिका र उसका क्षेत्रीय सैन्य उपस्थितिमाथि मानवीय, सञ्चालनगत तथा राजनीतिक लागत थोपर्न पर्याप्त हुन्छ ।’

जोसेफ स्टेपान्स्की/अलजजिरा

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी