काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले सामाजिक सद्भाव कायम राख्न सद्भाव र्याली अभियान चलाउने निर्णय गरेको छ। केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको बैठकले कोशी र मधेसमा देखिएका साम्प्रदायिक दङ्गा नियन्त्रण गर्न सरकार असफल देखिएको निष्कर्ष निकालेको छ।
नेता देवेन्द्र पौडेलका अनुसार सामाजिक सद्भावबारे विज्ञप्ति निकालेर आह्वान गर्ने निर्णय भएको छ। ‘सामाजिक सद्भावको लागि पहल गर्ने निर्णय भएको छ । राष्ट्रियता खतरामा पर्न सक्छ त्यसका लागि सद्भाव र्याली निकाल्ने, बुद्धिजीवी, सामाजिक अगुवा सबैलाई आग्रह गर्ने निर्णय भएको छ’,पौडेलले भने।
बैठकमा सरकारले नेतृत्वदायी भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएको छ। यस्तै एमालेसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्दै प्रदेशमा वामपन्थीहरूको सरकार बनाउने निर्णय गरेको उनले बताए।
वामपन्थीको सरकार बन्न नसक्ने प्रदेशमा अन्य दलसँग पहल गर्ने निर्णय भएको पौडेलको भनाइ छ। यसैगरी जेनजी आन्दोलनको क्रममा जलेको केन्द्रीय कार्यालय बनाउने निर्णय भएको छ।
‘केन्द्रीय कार्यालय चन्दा नउठाई बनाउने निर्णय भएको छ । पार्टी पङ्क्तिबाट व्यवस्थित कार्यालय बनाउन आह्वान गर्ने भनिएको छ’, पौडेलले भने।





