काठमाडौं, २४ साउन । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले ‘युनियन अफ युरोपियन फुटबल एसोसिएसन’मा महासचिव रहँदा एक महिलालाई दिइएको ठूलो रकमको ‘बिदाइ भुक्तानी’ अनुचित आचरणका कारण गरिएको थियो भन्ने दाबीलाई अस्वीकार गरेका छन्।
युइएफएले ती महिलालाई भुक्तानी गरिएको कुरा पुष्टि गर्दै भन्यो कि त्यस समयमा उक्त भुक्तानी नियमविपरीत थिएन तर त्यसयता आन्तरिक नियमहरूको भने शंकास्पद रूपमा उलङघन गरिएको जनाएको छ।
बेलायती पत्रिका ‘द टेलिग्राफ’ ले सबैभन्दा पहिले यो आरोप सार्वजनिक गरेको थियो कि विश्व फुटबलका विवादित प्रमुखसँगको प्रेम सम्बन्धका कारण ती महिलालाई उक्त रकम भुक्तानी गरिएको थियो।
तर, फिफाका एक प्रवक्ताले ‘द टेलिग्राफ’ लाई बताए अनुसार इन्फान्टिनोले यी आरोपहरूलाई दृढतापूर्वक अस्वीकार गरेका छन । र, भनेका छन कि यिनीहरू पूर्णतया झूटो आरोप मात्रै हुन्।
‘अनुचित आचरण वा विधान तथा नियमहरूको उल्लङ्घनको कुनै पनि सङ्केत मानहानिपूर्ण छ’, प्रवक्ताको विज्ञप्तिमा भनिएको छ।
दुई हप्ता अघि विश्वकपको आंशिक व्यावसायिक र सञ्चालन अधिकार बिक्री गर्ने इन्फान्टिनो र फिफाको विवादास्पद योजना सार्वजनिक भएदेखि नै विश्व फुटबलको सर्वोच्च निकायका प्रमुख ठूलो दबाबमा परिरहेका छन । भलै, फिफामा नीजी भित्रयाउने ती योजनाहरू रद्द गरिए पनि इन्फान्टिनो माथी अनेक दबाब कायमै रहेको बेला यो पछिल्लो प्रकरण बाहिरिएको हो ।
फिफामा नीजी लगानी भित्रयाउने बिषय सार्बजनिक भए लगतै विश्वका केही शक्तिशाली फुटबल राष्ट्रहरू सदस्य रहेको युइएफएले विश्वकप लगायतका फिफा प्रतियोगिताहरू बहिष्कार गर्ने चेतावनी दिएको थियो र इन्फान्टिनोको नेतृत्वप्रति आफ्नो अविश्वास सार्वजनिक रूपमा व्यक्त गरिसकेको छ ।
फुटबलभित्रको यो आन्तरिक द्वन्द्वको पछिल्लो अध्याय तब सुरु भयो, जब ‘द टेलिग्राफ’ ले गत शुक्रबार एउटा लेख प्रकाशित गर्दै आरोप लगायो कि जियानी इन्फान्टिनो युइएफएको महासचिव रहँदा संस्थाले उनकी कथित प्रेमिकालाई रकम भुक्तानी गरेको थियो।
उक्त पत्रिकाले विभिन्न अज्ञात स्रोतहरूलाई उद्धृत गर्दै दाबी गरे अनुसार सन् २००९ देखि २०१६ सम्म युइएफएको नेतृत्व सम्हाल्दा इन्फान्टिनोको एक ‘कनिष्ठ महिला कर्मचारीसँग सम्बन्ध’ थियो। पत्रिकाका अनुसार ती महिलालाई बढी आकर्षक व्यवस्थापकीय पदमा बढुवा गरिएको थियो र संस्था छोड्दा उनले अप्रत्याशि भुक्तानी प्राप्त गरेकी थिइन्।
समाचारमा उल्लेख गरिए अनुसार इन्फान्टिनाको कथित प्रेमिकाका लागि युइएफएले उनको एमबीएको पढाइ खर्च पनि व्यहोरेको थियो। समाचारमा उनको नाम भने खुलाइएको छैन् ।
सिएनएनलाई दिइएको एक विज्ञप्तिमा युइएफएले पुष्टि गर्यो कि ‘सम्बन्धित व्यक्तिलाई संस्था छोड्दा भुक्तानी दिइएको थियो, साथै स्थानीय बिजनेस स्कुलमा एमबीए पाठ्यक्रमको शुल्क पनि भुक्तानी गरिएको थियो।’
संस्थाले थप भन्यो, ‘उक्त भुक्तानी त्यस समयमा संस्था छोड्ने कर्मचारीहरूका लागि लागू नियमहरूकै अनुरूप थियो।’ सन् २०१६ यता त्यस्ता नियमहरूलाई अझ कडा बनाइएको छ र हालका कर्मचारी सम्बन्धी नियमहरू, जुन जुनसुकै तहका युइएफए कर्मचारीहरूमा लागू हुन्छन्, ले आधुनिक तथा उच्च स्तरीय संस्थामा हुने अभ्यासहरूलाई नै प्रतिविम्बित गर्छन्।’
तर, शनिबार, फिफाले संस्थाको विधान, लोकतान्त्रिक प्रक्रिया र स्थापित सुशासन संरचनालाई छल्ने प्रयासहरूको निन्दा गर्दै एक विज्ञप्ति जारी गरेको छ।
‘फिफा र यसका अध्यक्षलाई कमजोर पार्न केही पक्षबाट संगठित र निरन्तर प्रयास भइरहेको कुरा झन्झ न् स्पष्ट हुँदै गएको छ,’ फिफाको विज्ञप्तिमा भनिएको छ, ‘फिफाका सदस्य संघहरूको समर्थन नभएकाहरूले फिफाको स्थापित लोकतान्त्रिक प्रक्रियामार्फत हासिल गर्न नसकेका कुराहरू आरोप, अप्रत्यक्ष लाञ्छना वा गलत सूचनाको सहारा लिएर प्राप्त गर्ने प्रयास गर्नु हुँदैन।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘फिफा जायज निगरानी वा छानबिनको स्वागत गर्दछ तर निगरानीको अर्थ तथ्यहरूलाई तोडमरोड गर्ने, आधारहीन आरोपहरूलाई बढावा दिने वा प्रगतिको गति रोक्ने उद्देश्यले ध्यान भड्काउने काम गर्ने छुट पाउनु होइन। यदि कुनै समाचार वा प्रतिवेदन गलत वा भ्रामक छ भने, फिफाले त्यसको सशक्त र प्रत्यक्ष रूपमा प्रतिवाद गर्नेछ।’
बुधबार बसेको संकटकालीन बैठक पछि फिफाका वरिष्ठ अधिकारीहरूले इन्फान्टिनोप्रति समर्थन जनाएका छन् तर युइएफएले भने भविष्यमा हुने पुरुष तथा महिला विश्वकप बहिष्कार गर्ने धम्की दिइरहेकै छ। प्रतियोगिताका अधिकार बिक्री गर्ने योजना रद्द गरिए पनि युइएफएले आफ्नो धम्कीलाई कायमै राखेको छ र भविष्यमा यस्तो घटना नदोहोरिने सुनिश्चितताको माग गरेको छ।
यदि त्यो धम्की कार्यान्वयनमा आयो भने विश्वकपको महत्त्व निकै घट्नेछ,किनकि पुरुष र महिला फुटबल दुवैतर्फ हालका शीर्ष १० टोलीमध्ये ६–६ वटा टोली प्रतियोगितामा सहभागी हुने छैनन्। उता, खेलाडीहरूको सङ्घ ‘फिफप्रो’ले पनि फिफाको नेतृत्वप्रति आफ्नो विश्वास अब पूर्ण रूपमा टुटेको बताएको छ।
यद्यपि, दक्षिण अमेरिकी फुटबलको नियमन गर्ने र उक्त योजनाहरूको विरोध गरेको निकाय ‘कोन्मेबोल’ले इन्फान्टिनोको भविष्यबारे मतदान गर्न बोलाइने विशेष अधिवेशनलाई समर्थन नगर्ने तथा आगामी वर्षको सुरुमा हुने भनिएको अध्यक्षको निर्वाचनका लागि तय गरिएको विद्यमान समयतालिका नै पछ्याउने बताएको छ।
अन्य महादेशीय सङ्घहरूको तुलनामा फिफाले वितरण गर्ने रकममा बढी निर्भर रहेको ‘कन्फेडेरेसन अफ अफ्रिकन फुटबल’ले भने इन्फान्टिनोलाई समर्थन गरेको छ।





