एक मिनेटको सूचनाले जोगाउन सक्छ ज्यान: अन्तरदेशीय पूर्वसूचना प्रणाली स्थापना गर्न माग

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । हिमाली क्षेत्रमा सीमापार (माथिल्लो तटीय क्षेत्र) बाट आउने बाढी र हिमताल विस्फोटको जोखिम न्यूनीकरण गर्न ‘अन्तरदेशीय पूर्वसूचना प्रणाली’ तत्काल स्थापना गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन्।

विपद् आउनुपूर्वको छोटो समयको सूचनाले मात्रै पनि धेरैको ज्यान जोगाउन सकिने भएकाले तत्काल अन्तरदेशीय सूचना आदानप्रदान संयन्त्र बनाउनुपर्ने आवश्यकता औँल्याइएको हो।

न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै जलवायुजन्य जोखिम न्यूनीकरण विज्ञ उज्ज्वल उपाध्यायले रसुवा बाढी दुर्घटनामा पूर्वसूचना भएको भए मानवीय क्षति शून्यमा झार्न सकिने अवस्था रहेको जिकिर गरे। उच्च हिमालमा पानी परेको, हिउँपहिरो गएको वा हिमताल फुट्ने जोखिम रहेको जस्ता सूचना चिनियाँ पक्षसँग मात्र हुने हुँदा पूर्वतयारी गर्न नसकिएको उनको भनाइ छ। सूचना आदानप्रदान गर्न सक्ने संयन्त्र बनेको खण्डमा सम्भावित क्षतिलाई उल्लेख्य रूपमा कम गर्न सकिने उनले स्पष्ट पारे।

हिन्दुकुश काराकोरम हिमालय क्षेत्रका मुलुकहरूमा लामो समयदेखि यस्तो प्रणाली स्थापनाको बहस भइरहे पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। माथिल्लो तटीय क्षेत्र (जस्तै: तिब्बत) मा ठुलो वर्षा हुँदा वा हिमताल विस्फोट हुँदा त्यसको भयानक असर नेपालतर्फ पर्ने गरेको छ। माथि सानो वा ठुलो घटना हुनेबित्तिकै तल्लो क्षेत्रका नागरिकलाई सुरक्षित गर्न साझा सूचना केन्द्रको अभाव रहेको विज्ञ उपाध्यायले बताए।

समयमै सूचना आदानप्रदान हुन सके क्षति कसरी घटाउन सकिन्छ भन्ने प्रस्ट पार्दै उनले भने, ‘एक मिनेट मात्रै अगाडि सूचना पुग्यो भने कम्तीमा मानिसको ज्यान जोगाउन सकिन्छ।’ दुई मिनेट अगाडि जानकारी पाए ज्यानसँगै नगद र गरगहना जोगाउन सकिने उनको भनाइ छ। ‘एक घण्टा अगाडि सूचना पाए,’ उनले थपे, ‘घरका बहुमूल्य सामानहरू सुरक्षित स्थानमा सार्न सकिन्छ।’

बाढीले ठुला पूर्वाधार बगाए पनि मानवीय र अन्य महत्त्वपूर्ण क्षति रोक्न पूर्वसूचना प्रणाली प्रभावकारी हुने देखिन्छ। दुई वा दुईभन्दा बढी देशबीचको मामिला भएकाले कूटनीतिक र प्राविधिक चुनौतीका कारण यो प्रणालीले पूर्ण गति लिन नसकेको स्वीकार गर्दै उनले बढ्दो जलवायु जोखिमलाई मध्यनजर गरी क्षेत्रीय तहमा सहकार्य गर्नुको विकल्प नभएको निष्कर्ष निकाले।

साथै नेपालले नगण्य कार्बन उत्सर्जन गरे पनि विश्वव्यापी तापमान वृद्धिको सबैभन्दा ठुलो मार खेप्नुपरेको भन्दै अन्तर्राष्ट्रिय मञ्चहरूमा यस विषयलाई जोडदार रूपमा उठाउनुपर्नेमा उनले जोड दिए। जलवायुजन्य विपद्बाट हुने हानि–नोक्सानीको भरपाइका लागि अन्तर्राष्ट्रिय ‘हानि तथा नोक्सानी कोष’ बाट नेपालले अनिवार्य रूपमा न्यायोचित क्षतिपूर्ति पाउनुपर्ने उनको माग छ।

बुधबार बिहान रसुवागढी नाका हुँदै नेपाल प्रवेश गरेको भीषण बाढीको मुख्य कारण सीमापार (तिब्बत क्षेत्र) को हिमताल विस्फोट वा भारी वर्षापछिको ठुलो पहिरोले नदी थुनेर फुटेको हुन सक्ने विज्ञ उपाध्यायले अनुमान गरे। सिसापाङ्मा हिमाल आसपासको क्षेत्रबाट लेदो र ठुला ढुङ्गासहित आएको बाढीले तल्लो तटीय क्षेत्रमा ठुलो क्षति पुर्‍याएको छ।

बाढी यति भयानक हुनुमा भौगोलिक बनावट, तीव्र गति, लेदो र ढुङ्गाको मात्रा तथा जलवायु परिवर्तनको मुख्य भूमिका रहेको छ। आठ हजार मिटरभन्दा अग्लो सिसापाङ्मा क्षेत्रबाट पानी ठाडो र भिरालो भूभाग हुँदै तल झरेकाले यसको गति अत्यधिक थियो।

पानीभन्दा बढी आधा पग्लिएको हिउँ, ठुला ढुङ्गा र माटो मिसिएकाले यसले बाटोमा आएका संरचना भत्काउँदै क्षति पुर्‍याएको हो। विश्वव्यापी तापक्रम वृद्धि र यस वर्षको ‘एल निनो’ प्रभावका कारण उच्च हिमाली भेगमा हिउँ पग्लने तथा अत्यधिक वर्षा हुने क्रम बढेको छ।

विभिन्न अध्ययनलाई उद्धृत गर्दै विज्ञ उपाध्यायले नेपालको हिमाली क्षेत्र तथा नदी प्रणालीका सिरानमा रहेका करिब ४७ देखि ५० वटा हिमताल उच्च जोखिममा रहेको जानकारी दिए। सामान्यतया जेठदेखि भदौ महिनासम्म गर्मी र वर्षाका कारण हिउँको प्राकृतिक बाँध पग्लिने हुँदा यस्ता विपद् बढी दोहोरिने गरेको उनको भनाइ छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्