काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको जानकारी प्रतिनिधिसभालाई गराएका छन्।
प्रतिनिधिसभाको बैठकमा सरकारको तर्फबाट बोल्दै मन्त्री खनालले मनसुन कमाण्ड पोस्टको आकस्मिक बैठक बसेर घटनाको अवस्था, खोज तथा उद्धार, सुरक्षा व्यवस्थापन, स्वास्थ्य सेवा तथा राहत परिचालनका विषयमा समन्वय भइरहेको बताए।
उनका अनुसार रसुवाको टिमुरेलगायतका प्रहरी चौकीमा कार्यरत २६ जना प्रहरी र सशस्त्र प्रहरीतर्फका ९ जना सुरक्षाकर्मी सम्पर्कविहीन छन्। त्यस्तै, नेपाली सेनातर्फ टिमुरे र मैलुङ पोस्टमा कार्यरत ४४ जना सुरक्षाकर्मी पनि सम्पर्कविहीन रहेको उनले जानकारी दिए।
रसुवागढी भन्सार, अध्यागमन कार्यालयलगायतका केही कर्मचारीसमेत हालसम्म सम्पर्कमा नरहेको मन्त्री खनालले बताए। प्रभावित क्षेत्रका केही नागरिक पनि सम्पर्कविहीन रहेको उनको भनाइ छ।
उनका अनुसार प्रभावित क्षेत्रमा हालसम्म ९ जनाको शव फेला परेको छ भने शवको सनाखत हुन बाँकी छ। प्रारम्भिक सूचनाअनुसार केही नेपाली नागरिकले समेत ज्यान गुमाएको जानकारी आएको उनले बताए।
‘यस विपद्मा मृत्युवरण गर्नुहुनेप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु,’ मन्त्री खनालले भने।
मन्त्री खनालका अनुसार बुधबार बिहान करिब ८ बजेर ४० मिनेटतिर रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी आएको थियो। बाढीका कारण रसुवा र नुवाकोटका टिमुरे, स्याब्रुवेशी, भित्रावती, त्रिशूली, बटार, देवीघाटलगायतका क्षेत्रमा ठूलो क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको उनले बताए।
उनले बाढी आउनुअघि बिहान ८ बजेर ३७ मिनेटमा भूकम्प गएको र भूकम्पका कारण हिमपहिरो झरेपछि बाढी आएको हुनसक्ने प्रारम्भिक सूचना प्राप्त भएको बताए। यद्यपि उक्त विषय थप प्रमाणीकरण गर्न आवश्यक रहेको उनको भनाइ छ।
‘८ बजेर ३७ मिनेटमा भूकम्प गएको र भूकम्पले हिमपहिरो झरेको र त्यसका कारण बाढी आएको पनि प्रारम्भिक सूचनाहरू आएका छन्। त्यसलाई थप भेरिफाइ गर्नुपर्ने आवश्यकता देखिन्छ,’ उनले भने।
बाढीका कारण सडक, पुल, जलविद्युत् तथा सञ्चार क्षेत्रलगायतका भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको प्रारम्भिक आकलन गरिएको मन्त्री खनालले बताए। सरकारी तथा निजी भवन र सम्पत्तिमा समेत ठूलो क्षति पुगेको उनले जानकारी दिए।
भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रमा जोखिम देखिएपछि रसुवा, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको उनले बताए। नागरिकलाई सुरक्षित स्थानमा रहन रिङटोन, ब्याकअप टोन, एसएमएस, माइकिङ तथा सामाजिक सञ्जाललगायतका माध्यमबाट तत्काल सूचना सम्प्रेषण गरिएको उनले जानकारी दिए।
बाढीपछि प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक तत्काल बसेको र प्रभावित नागरिकको खोजी, उद्धार तथा राहतलाई उच्च प्राथमिकतामा राखेर आवश्यक कदम चाल्न सम्बन्धित निकायलाई निर्देशन दिइएको मन्त्री खनालले बताए।
मन्त्री खनालले सरकारका सबै संयन्त्र परिचालन गरी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत र सुरक्षा व्यवस्थापनको काम भइरहेको जानकारी प्रतिनिधिसभालाई गराएका छन्।





