भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ५३८ पुग्यो, ९७७ जना अझै सम्पर्कविहीन

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म ५३८ जनाको मृत्यु भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले २०८३ भदौ १२ गते दिउँसो ३ बजेसम्मको विवरण सार्वजनिक गर्दै बाढीबाट ५३८ जनाको मृत्यु भएको जानकारी दिएको हो।

प्राधिकरणका अनुसार बाढीमा परी सबैभन्दा धेरै चितवनमा २२१ जनाको मृत्यु भएको छ। नवलपरासी पूर्वमा १३४, गोरखामा विभिन्न मानव अंगसहित ४६, नुवाकोटमा ३७ र धादिङमा ३३ जनाको शव फेला परेको छ।

यस्तै, तनहुँमा २८, नवलपरासी पश्चिममा २७ र रसुवामा १२ जनाको मृत्यु भएको छ।

विपद्मा परी ७३ जना घाइते भएका छन्। घाइतेमध्ये रसुवाका ४३, नुवाकोटका २७ र धादिङका ३ जना छन्।

९७७ जना अझै सम्पर्कविहीन

बाढीपछि ९७७ जना अझै सम्पर्कविहीन छन्। सम्पर्कविहीनमध्ये ठूलो संख्यामा विदेशी नागरिक रहेका छन्।

प्राधिकरणका अनुसार ५१७ जना विदेशी नागरिक र नेपाल घुम्न आएका विदेशमा बस्ने १२७ जना नेपाली सम्पर्कविहीन छन्।

जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र (डीईओसी) बाट प्राप्त विवरणअनुसार रसुवाका १६१, मकवानपुरका ६६ र नुवाकोटका १ जना हराइरहेका छन्।

विपद्‌मा उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी र कर्मचारीसमेत सम्पर्कविहीन छन्। नेपाली सेनाका ४५, नेपाल प्रहरीका २८ र सशस्त्र प्रहरी बलका १३ जना सुरक्षाकर्मीको अवस्था अज्ञात छ। यस्तै, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका ४ जना कर्मचारी पनि सम्पर्कमा छैनन्।

१४ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

बेपत्ताको खोजी तथा प्रभावितको उद्धारका लागि १४ हजार ८२९ जना सुरक्षाकर्मी परिचालन गरिएको छ।

परिचालित जनशक्तिमा नेपाली सेनाका ६ हजार ६९८, नेपाल प्रहरीका ४ हजार ४७३ र सशस्त्र प्रहरीका ३ हजार ६५८ जना छन्।

हालसम्म २५ जना विदेशी नागरिकसहित ३ हजार ७४२ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। उद्धार तथा राहतका लागि नेपाली सेना र निजी कम्पनीका गरी ७८ वटा हवाई उडान भएका छन्।

प्रभावित जिल्लामा राहत सामग्री पठाइँदै

सरकारले राहतस्वरूप रसुवा र नुवाकोटलाई १–१ करोड रुपैयाँ तथा धादिङलाई ५० लाख रुपैयाँ नगद उपलब्ध गराएको छ।

प्रभावित क्षेत्रमा चाउचाउ, बिस्कुट, स्लिपिङ ब्याग, म्याट्रेस र ब्ल्याङ्केटलगायत सामग्री बोकेका १० वटा ट्रक पठाइएको छ। थप २० ट्रक खाद्य तथा गैरखाद्य सामग्री पनि प्रभावित क्षेत्रतर्फ पठाइएको छ।

त्यस्तै, प्रभावित क्षेत्रमा सञ्चार सेटसमेत पुर्‍याइएको छ। हेलिकप्टरमार्फत चारवटा उडान गरी राहत सामग्री ढुवानी गरिएको छ।

नुवाकोटमा इन्धनको पर्याप्त मौज्दात

इन्धनको अभाव हुन नदिन नुवाकोटमा पर्याप्त मौज्दात राखिएको छ।

भैरवी, सूर्यमती र पञ्चकन्या आयल स्टोरमा ४१ हजार लिटर डिजेल र २४ हजार लिटर पेट्रोल मौज्दात रहेको छ। नुवाकोटमै ९ हजार लिटर हवाई इन्धनसमेत राखिएको छ।

थप इन्धन आवश्यक परे प्रभावित क्षेत्रमा पठाउन तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले बेपत्ता विदेशी नागरिक, विदेशमा बस्ने नेपाली, उपचाररत व्यक्ति तथा हेलिकप्टरबाट उद्धार गरिएका व्यक्तिको विवरण आफ्नो फेसबुक पेज र वेबसाइटमार्फत हेर्न सकिने जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी