काठमाडौं । नेपालका मिक्स्ड मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ऐतिहासिक सफलता हासिल गरेका छन्। चीनको सांघाईस्थित अक्टागनमा जारी रोड टु युएफसी सिजन–५ अन्तर्गत सेमिफाइनलमा न्युजिल्यान्डका फाइटर कासिब मर्डकलाई पराजित गर्दै उनी फाइनलमा पुगेका हुन्।
ढाँटले निकै प्रतिस्पर्धात्मक बनेको भिडन्तमा मर्डकलाई स्प्लिट डिसिजनबाट पराजित गरेका हुन्। उनले २९–२८ को स्कोरमा जित हात पारे भने एक जना निर्णायकले मर्डकको पक्षमा निर्णय दिएका थिए।
रवीन्द्र र कासिबबीचको सेमिफाइनल १५ मिनेटसम्म निकै रोमाञ्चक र कठिन बनेको थियो। दुवै खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै आ–आफ्नो पक्षमा प्रभावशाली क्षण सिर्जना गरेका थिए।
यो जितसँगै रवीन्द्र रोड टु युएफसी सिजन–५ को फाइनलमा पुग्ने पहिलो नेपाली फाइटर बनेका छन्। अब उनले फाइनलमा पनि जित हात पारे प्रतिष्ठित एमएमए संस्था युएफसीसँग व्यावसायिक सम्झौता गर्ने अवसर प्राप्त गर्नेछन्।
‘बझाङ्गी बाघ’ उपनामले परिचित रवीन्द्रले बान्टमवेट विधामा हालसम्म ११ खेल खेलेका छन्। तीमध्ये उनले १० खेलमा जित हात पारेका छन् भने एक खेलमा मात्र पराजय व्यहोरेका छन्।
रवीन्द्रले आफ्नो एमएमए करिअरमा सन् २०२३ मा इस्माइल खानसँग मात्र हार व्यहोरेका थिए। त्यसयता भने उनले लगातार उत्कृष्ट प्रदर्शन गर्दै जितको यात्रा कायम राखेका छन्।
गत वर्ष भारतको नोएडामा आयोजित म्याट्रिक्स फाइट नाइट–१७ को उपाधि जितेपछि रवीन्द्र थप चर्चामा आएका थिए। उनले भारतका चर्चित फाइटर चुनरेङ कोरेनलाई तेस्रो चरणमा नकआउट गर्दै उपाधि जितेका थिए।
उक्त जितसँगै उनी म्याट्रिक्स फाइट नाइटको बान्टमवेट उपाधि जित्ने पहिलो नेपाली खेलाडीसमेत बनेका थिए।
रवीन्द्रले अर्को महत्वपूर्ण सफलता गत मे महिनामा मकाउमा आयोजित रोड टु युएफसी सिजन–५ को क्वाटरफाइनलमा हात पारेका थिए। उक्त प्रतिस्पर्धामा उनले फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका थिए।
त्यससँगै उनी रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा पुग्ने पहिलो नेपाली फाइटर बनेका थिए भने अब सेमिफाइनल जित्दै उनले नेपाली एमएमए इतिहासमा अर्को महत्वपूर्ण उपलब्धि थपेका छन्।





