यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण धुन्चेमा अलपत्र परेका व्यक्तिको स्थलमार्गबाट पनि उद्धार सुरु गरिएको छ।
धुन्चेमा रहेका तीर्थयात्री, पर्यटक तथा सर्वसाधारणलाई वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौँ उपत्यका ल्याउने व्यवस्था बागमती प्रदेश सरकारले मिलाएको हो। यसका लागि मुख्यमन्त्री किरण थापा मगरले समन्वय गरेका थिए।
मुख्यमन्त्री थापाले धुन्चेमा रोकिएका सर्वसाधारणका लागि खाना तथा यातायातको व्यवस्था गरिएको बताए।
उनले भने, “धुन्चेमा रोकिएका सर्वसाधारणलाई हामीले त्यहीँ खाना खुवाउने व्यवस्था गरेका छौँ। खाना खुवाइसकेपछि उहाँहरूलाई मोटरमार्फत महावीरसम्म पु¥याउने र महावीरबाट करिब एक घण्टा पैदल हिँडेर चौगटी पुगेपछि त्यहाँबाट पुनः सवारीसाधनमार्फत काठमाडौँ पठाउने व्यवस्था गरेका छौँ।”
उद्धारको पर्खाइमा रहेका यात्रुलाई प्रदेश सरकारले निःशुल्क बसको व्यवस्था गरी काठमाडौँ पुग्ने वातावरण बनाएको उनले बताए।
धुन्चेसँगै चौगटीमा पनि सर्वसाधारणका लागि खानाको व्यवस्था प्रदेश सरकारले नै मिलाएको मुख्यमन्त्री थापाले जानकारी दिए।
त्यसैगरी, बागमती प्रदेश सरकारले त्रिशूली पारिको क्षेत्रमा अवरुद्ध मध्यपहाडी लोकमार्गको मर्मत गरी यातायात सञ्चालनमा ल्याउने प्रयास थालेको जनाएको छ। उक्त सडक सञ्चालनमा आएपछि रसुवालगायत प्रभावित क्षेत्रका सर्वसाधारणले वैकल्पिक मार्गका रूपमा सोही सडक प्रयोग गरी काठमाडौँ आउन सक्ने जनाइएको छ।
सडक सञ्जालसँग पुनः जोडियो रसुवा
भोटेकोशी नदीमा बुधबार बिहान आएको अचानक बाढीका कारण अवरुद्ध भएको रसुवाको सडक सञ्जाल पुनः सञ्चालनमा आएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार काठमाडौँ–टोखा–छहरे–गड्खारपुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चेसम्मको सडकखण्डमा चारपाङ्ग्रे साना सवारीसाधन सञ्चालन हुने गरी सडक सुचारु भएको हो।
सडकखण्ड सञ्चालनमा आएसँगै रसुवा पुनः सडक सञ्जालसँग जोडिएको प्राधिकरणले जनाएको छ। सडक सम्पर्क पुनःस्थापित भएपछि बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा अत्यावश्यक सामग्री पुर्याउन सहज हुने अपेक्षा गरिएको छ।





