१३ भदौ, धनगढी । कञ्चनपुरमा प्रहरीले १३ किलोभन्दा बढी चरेशसहित दुई जनालाई पक्राउ गरेको छ।
कृष्णपुर नगरपालिका–५ गजरौलाबाट १३ किलो ९०५ ग्राम चरेशसहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतले जानकारी दिए।
पक्राउ पर्नेमा बझाङको बुंगल नगरपालिका–१ दहबगरका २२ वर्षीय कलक धामी र केदारस्युँ गाउँपालिका–७ काँडाचौरका ५० वर्षीय करन धामी रहेका छन्।
रावतका अनुसार गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गुलरिया र अस्थायी प्रहरी पोस्ट गजरौलाबाट खटिएको संयुक्त प्रहरी टोलीले शुक्रबार राति सुदूरपश्चिम प्रदेश ०१–००१ च ४८११ नम्बरको सेतो रङको बोलेरो पिकअप जाँच गर्ने क्रममा चरेश बरामद गरेको हो।
प्रहरीका अनुसार बोलेरो पिकअपको बोनटमा लुकाएर राखिएको अवस्थामा चरेश फेला परेको थियो। प्रहरीले जिपसहित दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।





