बाढीपछि चितवनमा भेटिएका बेवारिसे शव जमिनमुनि व्यवस्थापन गरिने

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीपछि चितवनमा संकलन गरिएका पहिचान हुन नसकेका तथा बेवारिसे शव व्यवस्थापन गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार सूचना जारी गर्दै बाढीपछि जिल्लामा हालसम्म २३३ शव संकलन भएको जनाएको छ। तीमध्ये आठवटा शवको पहिचान भएको र बाँकी शव होल्डिङ सेन्टर तथा विभिन्न स्वास्थ्य संस्थामा राखिएको प्रशासनले जनाएको छ।

होल्डिङ सेन्टर, स्वास्थ्य संस्था तथा नदी तटबाट संकलन गरिएका केही शव तथा शवका अवशेष सडेर–गलेर पहिचान गर्न नसकिने अवस्थामा पुगेको प्रशासनको भनाइ छ।

शव तत्काल व्यवस्थापन नगर्दा संक्रमण तथा महामारी फैलिन सक्ने स्वास्थ्य क्षेत्रका विज्ञहरूको राय तथा विश्लेषण रहेको सूचनामा उल्लेख छ।

यसैलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समिति चितवनको शनिबार बिहान बसेको बैठकले पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापनसम्बन्धी निर्देशिका, २०८३ बमोजिम शवलाई जमिनमुनि व्यवस्थापन गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

शव व्यवस्थापन गर्नुअघि सबै शवको डीएनए नमुना संकलन गरी संकेत नम्बरका आधारमा अभिलेख राखिनेछ।

त्यसपछि भरतपुर महानगरपालिका–९, देवघाटस्थित खुला स्थानमा शनिबारदेखि नै शव व्यवस्थापन गरिने प्रशासनले जनाएको छ।

हेर्नुहोस् सूचना :

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्