काठमाडौँ । रसुवातर्फबाट आएको बाढीका कारण त्रिशूली हुँदै नारायणी नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढेको छ। बाढीका कारण भरतपुर महानगरपालिका–१७ स्थित माझुवा बस्ती लगायत पश्चिम चितवनका विभिन्न बस्ती जोखिममा परेका छन्।
बाढीका कारण नदीले धार परिवर्तन गर्न सक्ने अवस्था सिर्जना भएको जनाइएको छ। जोखिममा परेका नागरिकप्रति चासो व्यक्त गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय पूर्ण रूपमा परिचालित भइसकेको जानकारी दिएका छन्।
विगतको जोखिम नक्साङ्कनमा तुलनात्मक रूपमा कम जोखिमयुक्त मानिएको यस क्षेत्रमा पछिल्ला वर्षहरूमा नदीको बहाव तथा थेग्रानको व्यवहार फरक देखिएकाले नारायणी करिडोरको बाढी जोखिम नक्सा पुनरावलोकन गरिने भएको छ।
सूचना प्राप्त भएलगत्तै मन्त्रालयअन्तर्गतको फिल्ड कार्यालय स्थानीय तह तथा प्रदेश सरकारसँग निरन्तर समन्वय गर्दै परिचालन भएको छ। जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशकको नेतृत्वमा जलविज्ञ सम्मिलित प्राविधिक टोलीसमेत घटनास्थलतर्फ प्रस्थान गरिसकेको जनाइएको छ।
तटबन्ध निर्माणका लागि ठूला ढुंगा जुटाउने काम भइरहेको छ। निर्माण सामग्रीको उपलब्धताका लागि गैंडाकोट नगरपालिकासँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ। दीर्घकालीन समाधानका लागि नारायणी नदीको विस्तृत नदी नियन्त्रण तथा नदी व्यवस्थापन योजना तयार गर्ने कामसमेत अघि बढाइएको छ।

बाढीको उद्गम क्षेत्र रसुवाको माथिल्लो भेगमा बाढीले जलमापन केन्द्र बगाएपछि त्यसको पूरकका रूपमा तत्काल तीनवटा सीसीटीभी जडान गरी जलसतहको निरन्तर अनुगमन गरिने भएको छ। साथै, जल तथा मौसम विज्ञान विभागमार्फत स्वचालित जलमापन केन्द्रहरूको पुनःस्थापना प्राथमिकताका साथ अघि बढाइने जनाइएको छ।
यस विषयमा तत्काल समन्वय गरी सक्रिय भूमिका खेलेको भन्दै मन्त्री सोवित गौतम तथा नदी नियन्त्रण फिल्ड कार्यालयलाई धन्यवाद दिइएको छ।
नदी किनारका बासिन्दालाई अत्यन्त सतर्क रहन, स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न र आवश्यक परे तत्काल सुरक्षित स्थानमा सर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री श्रेष्ठले अनुरोध गरेका छन्।




