काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका मानिसको उद्धारका लागि सरकारले दुई दिनदेखि प्रयास जारी राखेको छ। शनिबार बिहानैदेखि सुरुङको प्रवेशद्वार खोल्ने कामलाई थप तीव्र पारिएको छ।
सुरुङभित्र मानिसहरू फसेको जानकारी आएपछि सरकारले प्राथमिकताका साथ उद्धार टोली परिचालन गरी लेदो तथा भग्नावशेष पन्छाउँदै सुरुङको प्रवेशद्वार खोल्ने काम अघि बढाएको हो।
सुरुङको मुख खोतल्न तथा खोजी कार्यलाई तीव्रता दिन शुक्रबार रातिदेखि नेपाली सेनाका ६२ जना तथा सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका २० जना गरी ८२ जनाको संयुक्त टोली निरन्तर खटिएको छ।
सो क्षेत्रमा प्रतिकूल मौसम कायम रहेकाले उद्धार कार्य भने चुनौतीपूर्ण बनेको छ।
यसैबीच, उद्धारमा सहयोग गर्न आएको भारतीय टोली त्रिशूली पुगेको छ। भारतीय टोलीले हेलिकप्टरमार्फत चिलिमे र लाङटाङ क्षेत्रको प्रारम्भिक हवाई अनुगमन गरी आवश्यकता पहिचान गर्ने र त्यसअनुसार थप उद्धार कार्य अघि बढाउने योजना बनाएको छ।




