काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी नदीमा आएको बाढीका कारण चीनको केरुङमा रोकिएका नेपाली नागरिकलाई वैकल्पिक मार्ग हुँदै नेपाल ल्याइने बताएका छन्।
बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि आइतबार विदुर नगरपालिका–१, ढुङ्गे पुगेका मन्त्री खनालले प्रारम्भिक जानकारीअनुसार केरुङमा करिब १ हजार नेपाली रोकिएको जानकारी आएको बताए।
उनले भने, “प्रारम्भिक जानकारीअनुसार केरुङमा एक हजार जना नेपाली हुनुहुन्छ भन्ने सूचना छ, उहाँहरूलाई वैकल्पिक मार्गबाट नेपाल ल्याउँछौँ।”
मन्त्री खनालले सिन्धुपाल्चोकस्थित तातोपानी नाका सञ्चालनमा ल्याउन तथा मुस्ताङको कोरला नाका प्रयोगमा ल्याउन चिनियाँ पक्षसँग अनुरोध गरिसकेको जानकारी दिए।
यस्तै, जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारका लागि विदेशी सहायता आवश्यक देखिएपछि चिनियाँ र भारतीय विशेषज्ञलाई बोलाइएको उनले बताए।
“आवश्यक परेमा अन्य मुलुकबाट पनि सहयोग लिन सकिन्छ,” उनले भने, “हामीलाई विश्वसमुदायबाट सहयोगको प्रतिबद्धता आइरहेका छन्। आवश्यकताअनुसार सहयोग लिन्छौँ।”





