त्रिवि शिक्षण अस्पतालको शवगृह भरिँदै, रसुवा बाढीका ६० शव ल्याइयो

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

१४ भदौ, काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको शव धमाधम फेला पर्न थालेसँगै काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको शवगृह भरिन थालेको छ।

त्रिवि शिक्षण अस्पतालका फोरेन्सिक विज्ञ डा. गोपाल चौधरीका अनुसार रसुवा बाढीमा ज्यान गुमाएका ६० जनाको शव हालसम्म अस्पताल ल्याइएको छ। तीमध्ये ८ वटा शवको पहिचान भइसकेको छ भने २८ वटा शवको पोस्टमार्टम भइरहेको छ।

अब बढीमा १० वटा शव मात्रै राख्न सकिने अवस्था रहेको डा. चौधरीले जानकारी दिए।

‘हाम्रो क्षमता १५० हो। ८० वटा पहिलादेखि नै थियो। पहिचान खुल्न नसकेका शवहरू थिए,’ उनले भने, ‘हामीले अब राख्न सक्ने ७० वटा हो।’

थप १० वटा शव आएपछि अस्पतालको शवगृहको क्षमता पूर्ण रूपमा भरिने उनले बताए।

शव राख्ने ठाउँको अभाव हुन सक्ने भन्दै डा. चौधरीले अस्थायी शव भण्डारणको प्रक्रिया अघि बढाउन र त्यसका लागि उपयुक्त स्थान पहिचान गर्न सम्बन्धित निकायलाई सुझाव दिएका छन्।

‘अस्थायी शव भण्डारणका लागि प्रक्रिया गरेर ठाउँ पहिचान गर्नुपर्छ। त्यसका लागि सरकारी तहबाट काम हुनुपर्ने देखिन्छ,’ उनले भने।

बाढीमा ज्यान गुमाएर ल्याइएका अधिकांश शव कुहिएको तथा क्षतविक्षत अवस्थामा रहेको उनले बताए। त्यस्ता शवलाई फ्रिज गरेर राख्दा समेत पहिचानमा समस्या हुने उनको भनाइ छ।

‘शवलाई राखेर पनि काम छैन। त्यसका लागि उपयुक्त उपाय भनेकै गाड्नु हो। कुहिएको शवलाई फ्रिजमा राखेर पनि काम छैन,’ उनले भने, ‘अहिले आएका शव क्षतविक्षत छन्। प्रायः चिन्न सकिने शव छैनन्।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्