गोकर्णेश्वरको स्थापना गरेको विपद् राहत कोषमा नयाँ बस्ती युवा क्लबको बाढीपीडितका लागि १ लाख ११ हजार १११ सहयोग (तस्विरहरु)

रसुवा बाढीपीडितका लागि गोकर्णेश्वरको राहत अभियानमा निरन्तर सहयोग

ओमसरा घर्ति रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

१५ भदौ, काठमाडौं । रसुवा भोटेकोशी बाढीपीडितका लागि गोकर्णेश्वर नगरपालिकाले स्थापना गरेको विपद् राहत कोषमा गोकर्णेश्वर नगरपालिका–५ मा रहेको नयाँ बस्ती युवा क्लबले १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ।

सोमबार क्लबका अध्यक्ष चन्द्रमणि गौतमलगायत पदाधिकारीहरूले नगर प्रमुख दीपककुमार रिसाललाई सहयोग रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्। विपद्को समयमा पीडित परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले क्लबले राहत कोषमा रकम जम्मा गरेको जनाएको छ।

यसैबीच, यसअघि छ्योर्तेन टासी तामाङ गुम्बा र खाण्डोमा मणीपा आमा समूहले पनि सोही विपद् राहत कोषमा १ लाख २ हजार रुपैयाँ सहयोग गरेका थिए। आइतबार गुम्बामा आयोजित कार्यक्रममा गुम्बाका अध्यक्ष हरिबहादुर बलले नगर प्रमुख दीपक रिसाललाई सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए।

केहिदिन अघि गोकर्णेश्वर नगरपालिकाले रसुवामा भाद्र १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि विपद् राहत कोष स्थापना गरेको थियो ।

नगरपालिकामा भएको जनप्रतिनिधि तथा कर्मचारीको बैठकले जनप्रतिनिधिहरूको एक महिनाको सुविधा तथा कर्मचारी, स्वास्थ्यकर्मी र शिक्षकहरूको १० प्रतिशत तलब बराबरको रकम राहत कोषमा जम्मा गर्ने निर्णय गरेको थियो ।

राहत अभियानमा गोकर्णेश्वर नगरपालिकाभित्रका विभिन्न संघसंस्था, क्लब, टोल सुधार समिति, महिला समूह तथा नगरवासीले इच्छाअनुसार स्वेच्छिक सहयोग गर्न सक्ने व्यवस्था गरिएको छ।

नगर प्रमुख दीपक रिसालका अनुसार संकलित रकम रसुवाका प्रमुख जिल्ला अधिकारी ९सीडीओ०सँग समन्वय गरी बाढीपीडित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुग्ने गरी उपलब्ध गराइनेछ।

नगर प्रमुख रिसालले इच्छुक व्यक्ति तथा संघसंस्थालाई राहत कोषमा स्वेच्छिक सहयोग गर्नसमेत आग्रह गरेका थिए ।

यसैबीच, राहत अभियानमा विभिन्न संघसंस्थाले सहयोग गर्ने क्रम जारी रहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्