४४ सदस्यीय दक्षिण कोरियाली टोली नेपाल आउँदै

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । नेपालको रसुवा क्षेत्रमा आएको बाढीपछि सिर्जित परिस्थितिमा खोज तथा उद्धार कार्यमा सघाउन दक्षिण कोरियाले ४४ सदस्यीय आपत्कालीन राहत टोली नेपाल पठाउने भएको छ।

दक्षिण कोरियाली परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो।

विपत् प्रभावित क्षेत्रमा खोज र उद्धारका लागि नेपाल सरकारले गरेको सहायताको आग्रहबमोजिम यो टोली पठाउन लागिएको मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्रालय र अग्नि नियन्त्रण निकायका अधिकारीहरू सम्मिलित उक्त टोली सैन्य यातायात विमानमार्फत मंगलबार नै नेपालतर्फ प्रस्थान गर्नेछ। यो टोलीले नेपालमा रहेर करिब १० दिनसम्म उद्धार तथा सहायताको काम गर्नेछ।

गत साता आएको विनाशकारी बाढीमा परी एक जलविद्युत् आयोजनामा बेपत्ता भएका नौ जना कोरियाली कामदारको खोजबिनका लागि दक्षिण कोरियाले यसअघि नै एक द्रुत प्रतिक्रिया टोली नेपाल पठाइसकेको थियो।

सुरुवाती चरणमा नेपाली सेनाले लागू गरेको उडान प्रतिबन्धका कारण उक्त द्रुत टोली प्रभावित क्षेत्रमा पुग्न ढिलाइ भएको थियो। कोरियाली सञ्चारमाध्यमका अनुसार आवश्यक स्वीकृति पाएपछि उक्त टोलीले शनिबारदेखि शंकास्पद स्थलहरूमा हवाई खोज अभियान सुरु गरिसकेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्