सिन्धुपाल्चोक : सम्भावित विपद्लाई मध्यनजर गर्दै चीन सरकारले नेपाल–चीनबीचको उत्तरी नाका तातोपानी पारी रहेको झाङ्मु पोर्ट अनिश्चित कालको लागि बन्द गरेको जानकारी नेपाललाई दिएको छ ।
तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत तुलबहादुर पाण्डेका अनुसार चिनियाँ पक्षले अस्थायी रूपमा झाङ्मु पोर्ट बन्द गरिएको जानकारी इमेलमार्फत गरेको हो । ‘हामीलाई उहाँहरुले छोटो इमेल गर्नुभएको छ’,पाण्डेले चिनियाँ अधिकारीले पठाएको इमेललाई उदृत गर्दै भने,‘हामीले केही समयको लागि झाङ्मु पोर्ट बन्द गरेका छौं, कहिले खोल्छौं भन्ने जानकारी अर्को इमेलमा गराउनेछौं भनिएको छ ।’
रसुवामा आएको बाढीजस्तै तातोपानी नाका भएर बग्ने भोटेकोशीमा पनि बाढी आउनसक्ने अनुमान गरेर चिनियाँ पक्षले नाका बन्द गरेको हुन सक्ने पाण्डेको भनाइ छ । उनका अनुसार चिनियाँ अधिकारीहरूले रसुवा बाढी र त्यसले पुर्याएको क्षतिलाई मध्यनजर गरी झाङ्मु पोर्टबाट भन्सार कार्य बन्द गर्नुको साथै त्यहाँका कर्मचारी प्रशासनलाई माथिल्लो सुरक्षित क्षेत्रमा सारिएको छ ।
चिनियाँ पक्षले सेप्टेम्बर ३ तारेकसम्म खासामा निर्माण कार्य गर्नुपर्ने भएकाले केही दिनअघिदेखि कन्टेर पठाउन रोक्ने निर्णय गरेको थियो । ‘रसुवाको भोटेकोशीमा आएको बाढीपछि चीनले हुनसक्ने क्षतिबारे झस्किएको हुनसक्ने देखिन्छ,’भन्सार अधिकृत पाण्डेले भने,‘अर्को भनेको खासामा निर्माण कार्यका ठूला कामहरू गर्नुपर्ने भएकोले पनि नाका बन्द गर्नुपर्ने अवस्था आएको हुनसक्छ । यो बारेमा इमेलमा खासै केही खुलाइएको छैन ।’
चिनियाँ पक्षले कार्गो आवागमन समेत अस्थायी रूपमा रोकिएको जानकारी दिएको छ । नाका कहिलेदेखि पुनः सञ्चालन हुनेबारे भन्ने बताइएको छैन । भन्सार अधिकृत पाण्डेले चिनियाँ पक्षले खुल्नेबित्तिकै नयाँ सूचना दिने बताएको जानकारी दिए । रसुवागढी बाढीले बगाएसँगै तातोपानी नाकालाई विकल्पका रूपमा हेरिएको थियो । तर यो नाकासमेत बन्द भएपछि नेपाल–चीन व्यापारको विकल्प साघुँरिएको छ । दशै र तिहार नजिकै आएको अवस्थामा यो निर्णयले नेपाललाई निकै असर पर्ने व्यवसायीहरूको भनाइ छ ।
न्यालम काउन्टीमा रहेको झाङ्मु पोर्टवारीको तातोपानी नाकाबाट असार ३१ मा आएको पहिरोका कारण दुईदेशबीच आयात निर्यात हुन सकेको थिएन । अरनिको राजमार्ग अन्र्तरगतको बाह्रविसे बोदारी खण्डको २६ किलोमिटर सडकखण्डका विभिन्न स्थानमा पहिरोले सडक बिग्रिएपछि नाकाबाट ढुवानी लगभग बन्द जस्तै थियो । सडक विभागले टोली खटाएर मर्मतको काम गरेपछि ४० दिन पछि अस्थायी रुपमा सडक सञ्चालन भएको थियो । त्यसपछि पछिल्लोपटक भदौ १२ गते तातोपानी नाकाबाट आठवटा कन्टेनर नेपाल भित्रिएको थियो ।
झाङ्मु पोर्ट बन्द गरिएपछि नेपाल भित्रने मालवाहक कन्टेनर न्यालममै रोकिएका छन् । लामो समयदेखि कामविहीन भएका चिनियाँ ट्रान्सपोर्ट कम्पनीमा कार्यरत कर्मचारीसमेत बिचल्लीमा परेका छन् । खासाभन्दा माथि न्यालम र थिङ्रीमा फलफूल बोकेका ६० कन्टेनर ४५ दिनदेखि अलपत्र परेका छन् । ती फलफूल एसी कन्टेनरमा भएकाले सुरक्षित छन् । तर, लामो समय त्यहाँ रहँदा पार्किङ भाडाका कारण मूल्य वृद्धि हुने अवस्था रहेको नेपाल हिमालय सीमापार वाणिज्य संघका उपाध्यक्ष सुजित बस्नेतले बताए ।
उनका अनुसार ४० करोड रुपैयाँबराबरको फलफूल चिनियाँ क्षेत्रमा छ । दशैं–तिहारलक्षित फलफूल आयातमा यसपटक धेरै समस्या भोग्नुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ । चीनको खासा कस्टमले नेपालपट्टि कोदारी राजमार्ग जोखिमपूर्ण रहेको भन्दै मुस्ताङको कोरला नाका प्रयोग गर्न भनेपछि त्यहाँका ट्रान्सपोर्ट कम्पनी र नेपाली व्यापारीले विरोध जनाएको पराजुलीको भनाइ छ ।





