काठमाडौं । परोपकारी कार्यका कारण विश्वभर ‘रियल लाइफ हिरो’को पहिचान बनाएका बलिउड अभिनेता सोनु सुद नेपाल आइपुगेका छन्। भदौ १० गते नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि राहत सामग्री बोकेर उनी मंगलबार काठमाडौं आइपुगेका हुन्।
नेपालमा बाढीले भीषण रूप लिँदै ठूलो जनधनको क्षति भएको समाचार सार्वजनिक भएलगत्तै सुदले नेपाली नागरिकप्रति ऐक्यबद्धता जनाउँदै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
सामाजिक सञ्जालमा भावुक वाचा : ‘नेपाल, तिमी एक्लो छैनौँ’
बाढीको भयावह अवस्था देखेपछि सुदले सामाजिक सञ्जालमार्फत नेपाली नागरिकलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।
उनले लेखेका थिए, ‘नेपाल, तिमी एक्लो छैनौँ। हामी खाना, आश्रय र पुनर्निर्माणका लागि आवश्यक शक्ति बोकेर आउँदै छौँ।’
आफूले गरेको उक्त वाचा पूरा गर्दै सुद प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने विभिन्न राहत सामग्रीसहित नेपाल आएका हुन्।
राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याइने
भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको छ। बाढी तथा पहिरोबाट प्रभावित नागरिकलाई राहत, उद्धार र पुनःस्थापनाको आवश्यकता बढिरहेका बेला सुद नेपाल आएका हुन्।
उनले ल्याएका राहत सामग्री सरकारी संयन्त्र तथा स्थानीय स्वयंसेवकसँगको समन्वयमा बाढी प्रभावित तथा दुर्गम बस्तीमा वितरण गरिने बताइएको छ।
विपद्को यस्तो समयमा बलिउडका स्थापित अभिनेता स्वयं राहत सामग्री लिएर नेपाल आउनुलाई नेपाली नागरिक तथा सामाजिक सञ्जाल प्रयोगकर्ताले सकारात्मक रूपमा लिएका छन्।





