१६ भदौ, काठमाडौं । वातावरण संरक्षणदेखि विपद् व्यवस्थापनसम्म सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएको ‘ग्रीन आर्मी’ पछिल्लो समय बाढी–पहिरो प्रभावित क्षेत्रमा उद्धार तथा सहयोगका लागि खटिएपछि चर्चामा आएको छ।
विशेषगरी सैनिक पोशाकसँग मिल्दोजुल्दो चुस्ता लगाएर स्वयंसेवकहरू प्रभावित क्षेत्रमा पुगेपछि सामाजिक सञ्जालमा संस्थाको स्वरूप र पोशाकबारे विभिन्न प्रश्न तथा टिप्पणी भइरहेका छन्।
त्यसपछि ‘ग्रीन आर्मी’ले आफू कुनै सैन्य संगठन नभई वातावरण संरक्षण, सामाजिक सेवा तथा विपद् व्यवस्थापनका क्षेत्रमा काम गर्ने स्वयंसेवी संस्था भएको स्पष्ट पारेको छ।
संस्थापक अध्यक्ष सविन शर्माका अनुसार ग्रीन आर्मी पूर्ण रूपमा वैधानिक सामाजिक संस्था हो। काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ मा रहेको संस्थाले स्थानीय तहबाट समेत आवश्यक स्वीकृति लिएर आफ्ना सामाजिक गतिविधि सञ्चालन गर्दै आएको उनको भनाइ छ।
शर्माका अनुसार संस्थाले प्रयोग गर्ने पोशाक पनि सम्बन्धित सरकारी निकाय तथा नेपाली सेनाको राय र सहमतिपछि निर्धारण गरिएको हो। जिल्ला प्रशासन कार्यालय काठमाडौंले गृह मन्त्रालय, रक्षा मन्त्रालय तथा नेपाली सेनाको राय र सहमतिका आधारमा २०७८ सालमा पोशाक प्रयोगका लागि अनुमति दिएको उनको दाबी छ।
ग्रीन आर्मीका अनुसार यसको मुख्य उद्देश्य युवापुस्तालाई वातावरण संरक्षण र विपद् व्यवस्थापनका विषयमा सचेत बनाउनु हो। संस्थाले विद्यालय तहका विद्यार्थीहरूलाई ‘इको क्लब’मार्फत वातावरण संरक्षणसम्बन्धी चेतना तथा व्यावहारिक ज्ञान दिँदै आएको जनाएको छ।
वृक्षारोपण, सरसफाइ, वातावरण संरक्षण, जनचेतना अभिवृद्धि तथा विपद् व्यवस्थापनसम्बन्धी तालिमलगायतका गतिविधिमा संस्था लामो समयदेखि सक्रिय रहेको बताइएको छ। संस्थाका अनुसार २०७० सालदेखि सुरु भएको अभियानले २०७२ सालको विनाशकारी भूकम्पका क्रममा समेत उद्धार तथा सहयोगका गतिविधिमा सहभागिता जनाएको थियो।
हाल विद्यालयस्तरमा हजारौँ जुनियर क्याडेटलाई वातावरण संरक्षण, वृक्षारोपण, सरसफाइ तथा विपद् व्यवस्थापनसम्बन्धी प्रशिक्षण दिइरहेको संस्थाको दाबी छ। यसमार्फत बालबालिका तथा युवालाई सामाजिक उत्तरदायित्वप्रति जिम्मेवार बनाउने उद्देश्य रहेको संस्थाले जनाएको छ।
पछिल्लो समय भोटेकोसी तथा रसुवालगायतका क्षेत्रमा बाढी–पहिरोको अवस्था सिर्जना भएपछि ग्रीन आर्मीका स्वयंसेवकहरू पनि प्रभावित क्षेत्रमा परिचालन भएका थिए। गोकर्णेश्वर नगरपालिकासँग समन्वय गरी स्वयंसेवकहरूलाई बाढी प्रभावित क्षेत्रमा पठाइएको संस्थाले जनाएको छ।
विपद्को समयमा सरकारी निकायसँग आवश्यक समन्वय गर्दै उद्धार, राहत तथा मानवीय सहयोगमा हातेमालो गर्नु आफ्नो उद्देश्य रहेको संस्थाका प्रमुख सल्लाहकार तथा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बताउँदै आएका छन्।
पोशाकका कारण पछिल्लो समय संस्थामाथि विभिन्न प्रश्न उठे पनि ग्रीन आर्मीले आफ्नो उद्देश्य र गतिविधि सामाजिक सेवामै केन्द्रित रहेको स्पष्ट पारेको छ। संस्थाले आफूलाई सैन्य संगठनका रूपमा प्रस्तुत नगरेको र पोशाकसम्बन्धी विषय पनि सम्बन्धित निकायको प्रक्रिया र सहमतिमै अघि बढाइएको जनाएको छ।
विपद्का बेला उद्धार तथा सहयोगका लागि स्वयंसेवकहरू प्रभावित क्षेत्रमा पुग्नु, वातावरण संरक्षणका अभियान सञ्चालन गर्नु तथा विद्यार्थीलाई सामाजिक सेवामा जोड्नु ग्रीन आर्मीका मुख्य गतिविधि रहेको संस्थाको भनाइ छ। आलोचना र जिज्ञासाबीच संस्थाले आफ्नो कानुनी हैसियत, उद्देश्य र पोशाकसम्बन्धी प्रक्रिया सार्वजनिक गर्दै आफू सामाजिक सेवामा समर्पित स्वयंसेवी संस्था भएको पुनः स्पष्ट पारेको छ।





