काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले ६ प्रतिशत नगद लाभांश (करसहित) र ४ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ।
आधुनिक प्रविधि र उत्कृष्ट ग्राहक सेवाका लागि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्दै आएको बैंकले सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेष्ट बैंक नेपाल’ को उपाधि हासिल गरेको जनाएको छ। बैंकले युरोमनी अवार्ड फर एक्सलेन्स, बेष्ट बैंक ईएसजी नेपाल तथा बेष्ट इम्प्लोयरलगायतका प्रतिष्ठित सम्मानसमेत प्राप्त गरिसकेको छ।
ग्लोबल आइएमई बैंक ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। हाल बैंकका ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय रहेका छन्।
बैंकले अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई र भारतलगायतका मुलुकबाट औपचारिक माध्यममार्फत विप्रेषण भित्र्याउँदै आएको जनाएको छ।





