१७ भदौ, काठमाडौं । चितवन को–ई समूहले बाढीपहिरो प्रभावितको उद्धार, राहत तथा पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ।
समूहअन्तर्गतको मनकामना दर्शन प्रालिले एक करोड २५ लाख र चितवन मिल्क लिमिटेडले २५ लाख कोषमा योगदान गरेका हुन्।
समूहले जारी गरेको विज्ञप्तिमा हालैको बाढीपहिरोबाट धेरै परिवार तथा नेपाली समुदायमा ठूलो क्षति पुगेको भन्दै प्रभावितप्रति सहानुभूति व्यक्त गरिएको छ। चितवन, गोरखा तथा आफूले कार्य गर्दै आएका क्षेत्रसँग समूहको गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै विपद्को समयमा छिमेकी, साझेदार र समुदायको सदस्यका रूपमा सहयोग गर्नु आफ्नो दायित्व भएको समूहको भनाइ छ ।
समूहले स्वर्गीय संस्थापक लक्ष्मणबाबु श्रेष्ठको समाज र देशप्रति उत्तरदायी हुनुपर्ने मान्यतालाई आत्मसात् गर्दै सहयोग गरिएको जनाउँदै उक्त सहयोगले बाढीपहिरो प्रभावित परिवारलाई तत्काल राहत, पुनःस्थापना तथा समुदायको पुनर्निर्माणमा सहयोग पुग्ने विश्वास लिएको छ ।





