१८ भदौ, काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले आफ्ना आबद्ध कलाकार तथा उनीहरूका परिवारलाई दुःख, विपद् र आपत्कालीन अवस्थामा आर्थिक सहयोग उपलब्ध गराउने व्यवस्था गरेको छ।
प्रतिष्ठानले कलाकारको मृत्यु, परिवारका सदस्यको निधन, उपचार तथा धनसम्पत्तिमा क्षति पुगेका अवस्थामा निश्चित मापदण्डका आधारमा राहत उपलब्ध गराउँदै आएको जनाएको छ।
प्रतिष्ठानका अनुसार आबद्ध कलाकारको मृत्यु भएमा निजका श्रीमान्/श्रीमती, छोरा/छोरी वा एकाघरका परिवारलाई ५० हजार रुपैयाँसम्म आर्थिक सहायता उपलब्ध गराइनेछ।
त्यस्तै, आबद्ध कलाकारका आमा/बुवा, श्रीमान्/श्रीमती वा छोरा/छोरीको मृत्यु भएमा ३० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने व्यवस्था गरिएको छ।
कलाकार दुर्घटना वा अन्य कारणबाट घाइते भई उपचार गर्नुपर्ने अवस्था आएमा उपचार खर्चबापत २५ हजार रुपैयाँसम्म सहयोग उपलब्ध गराइने प्रतिष्ठानले जनाएको छ। कलाकारको अवस्था तथा उपचारको गम्भीरता हेरी आवश्यकताअनुसार सहयोग रकम बढाउन सकिने व्यवस्था समेत गरिएको छ।
यसैगरी, प्राकृतिक विपत्ति, दुर्घटना वा अन्य कारणबाट कलाकारको धनसम्पत्तिमा क्षति पुगेमा २० हजार रुपैयाँसम्म आर्थिक राहत उपलब्ध गराइनेछ।
‘कलाकारको सुखमा मात्र होइन, दुःखमा पनि प्रतिष्ठान साथमा छ’
प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरले कलाकारको हित, संरक्षण तथा सामाजिक सुरक्षालाई संस्थाले उच्च प्राथमिकतामा राखेको बताइन्।
उनका अनुसार लोक तथा दोहोरीगीत क्षेत्रका कलाकारले नेपाली मौलिक कला, संस्कृति र संगीतको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिँदै आएका छन्। त्यसैले कलाकार कठिन परिस्थितिमा पर्दा संस्थागत रूपमा साथ दिनु प्रतिष्ठानको दायित्व भएको उनको भनाइ छ।
“लोक तथा दोहोरीगीत क्षेत्रका कलाकारहरूले नेपाली मौलिक कला, संस्कृति र संगीतको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिँदै आएका छन्। उनीहरू कठिन परिस्थितिमा पर्दा संस्थागत रूपमा साथ दिनु प्रतिष्ठानको दायित्व हो,” अध्यक्ष थापा मगरले भनिन्।
उनले राहत तथा सहयोगको व्यवस्था कलाकारलाई संकटको समयमा संस्थागत संरक्षण र भरोसा प्रदान गर्ने उद्देश्यले गरिएको बताइन्।
“कलाकारको सुखमा मात्र होइन, दुःख र अप्ठ्यारो परिस्थितिमा पनि प्रतिष्ठान उनीहरूको साथमा छ भन्ने विश्वास कायम गराउनु हाम्रो प्राथमिकता हो,” उनले भनिन्।
अध्यक्ष थापा मगरले कलाकारको योगदानको सम्मानसँगै उनीहरूको सामाजिक सुरक्षालाई थप मजबुत बनाउन आगामी दिनमा समेत आवश्यक कार्यक्रम तथा सहयोगका पहललाई निरन्तरता दिने बताइन्।
प्रधानमन्त्री राहत कोषमा १ लाख १ हजार १११ रुपैयाँ सहयोग
यसैबीच, प्रतिष्ठानले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा १ लाख १ हजार १११ रुपैयाँ सहयोग गरेको छ।
विपद्को अवस्थाबारे जानकारी लिन तथा प्रभावित क्षेत्रको वास्तविक अवस्था बुझ्न केही दिनअघि अध्यक्ष रिता थापा मगरसहित प्रतिष्ठानको टोलीले स्थलगत अवलोकनसमेत गरेको थियो।
टोलीले प्रभावित क्षेत्रको अवस्था, क्षतिको प्रकृति तथा तत्काल आवश्यक सहयोगका विषयमा स्थलगत जानकारी लिएको प्रतिष्ठानले जनाएको छ।
स्थलगत अवलोकनबाट प्राप्त जानकारी तथा विपद्को अवस्थालाई मध्यनजर गर्दै राहत कोषमा उक्त रकम सहयोग गरिएको प्रतिष्ठानको भनाइ छ।
अध्यक्ष थापा मगरले कलाकारको हकहित र सामाजिक सुरक्षासँगै विपद्का समयमा समाज तथा राष्ट्रप्रति संस्थाको जिम्मेवारी निर्वाह गर्नु पनि प्रतिष्ठानको दायित्व भएको बताइन्।
“कलाकारको हित र संरक्षण हाम्रो प्रमुख जिम्मेवारी हो। तर समाज र राष्ट्रलाई अप्ठ्यारो परेको बेला आफ्नो क्षमताअनुसार सहयोग गर्नु पनि हाम्रो सामाजिक दायित्व हो,” उनले भनिन्।
प्रमाण र अवस्थाका आधारमा राहत
प्रतिष्ठानका अनुसार राहत तथा आर्थिक सहयोग उपलब्ध गराउँदा सम्बन्धित घटनाको प्रकृति, कलाकारको अवस्था, आवश्यक प्रमाण तथा प्रतिष्ठानका प्रचलित नियम र निर्णयलाई आधार बनाइनेछ।
कलाकारको हकहित, संरक्षण र सामाजिक सुरक्षाका क्षेत्रमा संस्थागत पहललाई निरन्तरता दिँदै प्रतिष्ठानले लोक तथा दोहोरीगीत क्षेत्रका कलाकारलाई आवश्यक परेको समयमा सहयोग र सहकार्य उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।





