भोटेकोशी बाढीपछि सुरुङबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएका दुई जनामध्ये एक जनाको अवस्था जटिल रहेको छ भने अर्का एक जनाको अवस्था सामान्य रहेको छ।

दोस्रो पटक उद्धार गरिएका कबीर महर्जनको स्वास्थ्य अवस्था जटिल रहेको नेपाली सेनाले जनाएको छ। उनलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुर्‍याएर सघन उपचार भइरहेको छ।

यस्तै, सुरुमा उद्धार गरिएका सञ्जय साहको अवस्था भने सामान्य रहेको छ। उनको स्वास्थ्य अवस्था स्थिर रहे पनि थप परीक्षणका लागि उनलाई पनि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल ल्याइएको छ।

नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य विज्ञ सम्मिलित संयुक्त टोलीले बाढी आएको १० दिनपछि शुक्रबार दुवै जनालाई सुरुङबाट उद्धार गरेको हो।

जलविद्युत् आयोजनाको सुरुङभित्र मानिसहरू फसेको आशङ्कापछि बाढी आएको केही समयदेखि नै उद्धार प्रयास थालिएको थियो। तर, सुरुङभित्रको कठिन अवस्था र बाढीका कारण उद्धार कार्यमा लामो समय लागेको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्